काठमाडौँ - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्ष कुल आचार्यले आफ्नी आमा,नन्दकला आचार्य, को ८८ औं जन्म दिनको अवसरमा काठमाडौँस्थित सामाजिक संस्था, मायाको घर, लाई आर्थिक सहयोग गरेका छन्।
आइतबार आफ्नी आमाको जन्मदिनको अवसरमा आमा र भाइ दधि आचार्यसंग बगलामुखी माताको दर्शन गरेपछि कीर्तिपुरस्थित मायाको घर पुगेर नगद सहयोग गरेका थिए।
आफ्नो तथा आमाको जन्म दिनको अवसरमा हरेक वर्ष विभिन्न संस्थाहरुलाई सहयोग गर्दै आएका आचार्यले यस पटक निसहाय बालबालिकालाई आश्रय प्रदान गर्दै आएको ‘मायाको घर’ लाई सहयोग गरेका हुन्।
"श्री कुल आचार्य दाजुले हामीलाई स्थापना कालदेखि सहयोग गर्दै आउनु भएको छ। यस पटक आफ्नी ममतामयी आमाको जन्म दिनको अवसर पारेर फेरी पनि हामीलाई सहयोग गर्नु भएकोमा हामी आभारी छौं," मायाको घरकी संस्थापक दुर्गा आचार्यले भनिन्।
यस अघि अध्यक्ष आचार्यले संघले पशुपति क्षेत्रमा निर्माण गर्न लागेको वृद्धाश्रम बनाउन रु एक करोड व्यक्तिगत सहयोग गर्ने घोषणा गरेका थिए।
प्रकाशित मिति:
मंगलबार, वैशाख २७, २०७९, २०:२४:००