मिती २०७९ वैशाख ४ गते
न्याय मिलोस्
सवैभन्दा पहिले म नेपाल पत्रकार महासंघलाई धन्यवाद दिन चाहन्छु । महासंघका कारण आज यो मञ्चमा उपस्थित भएर आफूमाथि एउटा प्रतिष्ठित टेलिभिजनले गरेको अन्याय, त्यसबाट उत्पन्न पीडा र क्षतिबारे सार्वजनिक गर्दैछु । पत्रकार सम्मेलनमा सहभागि हुनु भएका सबै पत्रकार साथीहरुप्रति आभार व्यक्त गर्न चाहन्छु। अहिले म माथि भएको अन्याय १० वर्ष पहिले ममाथिनै भएको एउटा घटनासँग जोडिएको छ । त्यसैले मैले विगतबाटै आफ्नो घटनाबारे बताउन उपयुक्त ठानेको छु ।
रेडियो कान्तिपुरको त्यो घटना
सुर्खेतबाट मैले व्यवसायीक पत्रकारिता सुरु गरेको थिएँ । पत्रकारिता चुनौति र अवसर दुवै हो भन्ने जानेर नै यो क्षेत्रमा होमिएको हुँ। पत्रकारितालाई मैले पेशा नै बनाउने अठोटका साथ लागेकै थिएँ । विस्तारै यो मेरो खुसी र सन्तुष्टीको माध्यम बन्यो । केही वर्ष सुर्खेतमा पत्रकारिता गरेपछि त्यसमा सुरक्षित भविष्य खोज्दै काठमाडौँ भसिएको थिएँ । काठमाडौँमा खुल्ला प्रश्पिर्धा गरेर मैले कान्तिपुर मिडिया ग्रुपको प्रतिष्ठित रेडियो, रेडियो कान्तिुरमा काम गर्ने मौका पाएँ । यो मेरो लागि चुनौति र अवसर दुवै थियो । त्यसैले इमान, निष्ठा र मेहेनतका साथ काम गर्न थालेको थिएँ । काम राम्रो गरेको भनेर छोटो समयमै मेरा शुभचिन्तकहरुले हौसला दिन थाल्नु भएको थियो ।
बिडम्बना, मेरा तत्कालिन समाचार विभागका प्रमुखले ममाथि कुदृष्टि राखे । उनले मलाई यौनहिंसा गरे । उनीसँग निकट अर्को एकजना तत्कालिन मेरा सहकर्मीले त मलाई कार्यस्थलमै यौनदुव्र्यवहार गरे । मैले सहने ठाउँ थिएन । त्यसैले उनीहरु दुबै जनाले ममाथि गरेको हिंसाबारे सबैभन्दा पहिले मैले तत्कालिन सहकर्मीहरुलाई भने । समाचार कक्षको बैठकमै पनि यसबारे औपचारिक रुपमा कुरा राखेँ । तर त्यहाँबाट मैले सहयोग, समर्थन पाइन् । बरु, मलाई नै कामबाट निकाल्ने षड्यन्त्र भयो । यसको अगुवाई तत्कालिन प्रशासन प्रमुख परमानन्द खनालले गरेका थिए । जो ममाथि यौनहिंसा गर्ने समाचारप्रमुखसँग अत्यन्तै निकट मानिन्थे । खनालले मलाई एक दिन बोलाएर ‘तिमी अब चुपचाप लाग । हैन भने तिमीले जागिरबाट हात धुनुपर्ने हुनुपर्ने हुन्छ’ भन्ने धम्की दिएका थिए । मेरा लागि जागिर भन्दा स्वाभिमान ठूलो थियो । त्यसैले म कान्तिपुर मिडियाग्रुपको उच्च तहमा न्यायका लागि ढोका ढकाउन पुगेको थिएँ । मेरा लागि ती दिनहरु निकै संघर्षपूर्ण र कहालीलाग्दा थिए । यद्यपि म सत्यको बिजय हुन्छ भन्नेमा दृढ थिएँ । धैर्यता गुमाएको थिएन । ममाथि यौनहिंसा गर्ने समाचार विभाग प्रमखसँग स्पष्टीकरण लिइयो । स्पष्टीकरणको जबाफ चित्त नबुझेपछि उनलाई राजीनामा दिन लगाइयो । मलाई कार्यस्थलमै यौनदुव्र्यहार गर्ने अर्का सहकर्मीलाई ३ महिना निलम्बन गरियो । मैले त्यो बेला न्याय पाएको महसुस गरे । रेडियोप्रतिको मेरो सद्भाव अझ बढेको थियो । त्यो घटनापछि पनि म त्यही रेडियोमा काम गरिरहेको थिएँ । तर केहीसमयपछि अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले मलाई कामका लागि प्रस्ताव गर्यो । सुर्खेत र काठमाडौँ गरी लामो समय मैले रेडियो पत्रकारिता गरिसकेको थिएँ । मलाई पनि अब छापा पत्रकारिता गर्नुपर्छ भन्ने लागिसकेको थियो । त्यसैले रेडियो कान्तिपुरसँग सौहार्दपूर्ण र नियमपूर्वक विदा भएँ । रेडियोले मलाई कामको प्रशंसा गर्दै तत्कालै अनुभवपत्र पनि दिएको थियो।
त्यसपछिको १० वर्षको यात्रा
रेडियो कान्तिपुर छोडेपछि अन्नपूर्ण राष्ट्रिय दैनिक हुँदै देशसञ्चार डटकममा काम गर्दा अनवरतरुपमा १० वर्ष पत्रकारितामा बिताइसकेको थिएँ । यो अवधिमा आफूलाई पत्रकारितामा अझ निखार्ने मौका पाएको थिएँ । मेरो पेशाप्रतिको प्रतिवद्धता अझै बढेको थियो । मिहेनत त मेरो स्वभाव नै बनिसकेको थियो ।
कान्तिपुर टेलिभिजनमा काम सुरुवात
देशसञ्चार डटकममा कार्यरत रहँदा मलाई कान्तिपुर मिडियाग्रुपकै एक प्रतिष्ठित मिडिया कान्तिपुर टेलिभिजनले कामको प्रस्ताव गर्यो । पहिलो भेटवार्तामा टेलिभिजनका प्रधानसम्पादक दिलभुषण पाठकले कामका लागि मसँग कम्तिमा २ वर्षको ग्यारेन्टी मागेका थिए । मैले सहजै त्यो स्वीकारेको थिएँ । उनले मलाई ‘तपाईँलाई अहिले कान्तिपुर पत्रिकाले बोलायो भने के गर्नुहुन्छ?’ भनेर पनि सोधेका थिए । मैले ‘जान्न’ भनेको थिएँ । त्यसपछि उनले मलाई ‘तपाईले रेडियो कान्तिपुर के कति कारणले छोड्नु भएको हो ? भनेर अर्को प्रश्न गरेका थिए । मैले प्रधानसम्पादकलाई रेडियो कान्तिपुरमा भएका सबै घटनाक्रम सुनाएको थिएँ । त्यसपछि उनले ‘तपाईँले राम्रै गर्नु भएछ । म पनि महिलामाथि हुने हिंसाको विरोधी हुँ’ भन्ने प्रतिक्रिया दिएका थिए । पाठकको यो कुराबाट म पनि खुसी भएको थिएँ । त्यसपछि कान्तिपुर टेलिभिजनमा देशसञ्चारडटकममा पाइरहेको भन्दा कम सेवासुविधा र पदमा काम गर्न तयार भएको थिएँ । मेरो प्राथमकिता टेलिभिजन पत्रकारिता थियो ।
परमानन्द खनालको पहिलो फोन
कान्तिपुर टेलिभिजनमा मैले काम गर्ने विषय अनौपचारिक रुपमा टुंगिएको भोलीपल्ट मलाई परमानन्द खनालको फोन आयो । मैले रेडियो कान्तिपुर छोडेपछि खनालसँग कहिल्यै पनि संवाद गरेको थिएन । उनको फोन आउँदा म झस्किए । फोन उठाउने कि नउठाउने भन्नेमा म एकछिन दोधारमा परेँ । अन्ततः फोन उठाएँ । उनी नाटकीय ढंगबाट प्रस्तुत भएका थिए । उनले मलाई ‘रेडियो कान्तिपुरमा जे जस्तो भएपनि तिमी अन्त गएपछि तिम्रो काम पछ्याएको छु, तिमीले निकै राम्रो गरिरहेको छौँ’ भनेका थिए । त्यसपछि उनले मलाई ‘के तिमी अब तिमी कान्तिपुर टेलिभिजनमा जान लागेको हो?’ भनेर प्रश्न गरे । मेरो हातमा नियुक्ति पत्र परिसकेको थिएन । मैले उनलाई ‘निश्चित छैन’ भन्ने जवाफ दिएँ । त्यसपछि उनले केही नबोली फोन राखे । वास्तवमा म खनालको फोनले खलबलिएको थिएँ । म कान्तिपुर टेलिभिजन जाने या नजाने कुराले खनालका लागि के अर्थ राख्थ्यो ? त्यसको जबाफ तत्काल नपाए पनि खनालको फोनले मनमा चिसो भने पस्यो ।
कान्तिपुर टिभीको पहिलो बैठक
२०७८ असोज १ गतेदेखि मैले कान्तिपुर टेलिभिजनमा औपचारिकरुपमा काम सुरु गरेँ । समाचार कक्षको पहिलो बैठकमै प्रधानसम्पादकले ‘अब दिपाको १६/१७ वर्षको लामो पत्रकारिताको अनुभवको सदुपयोग गर्ने मौका कान्तिपुर टेलिभिजनले पाएको छ’ भन्दै मेरो परिचय गराएका थिए । ‘तपाईहरुले दिपालाई काम गर्ने वातावरण दिनुहोला’ भन्दै अन्य साथीहरुलाई पनि उनले निर्देशन दिएका थिए । यस्तै उनले मलाई आफ्नो अनुभव पनि साथीहरुलाई बाँड्न अनुरोध गरेका थिए । उनको यो कुराले मलाई हौसला प्रदान गरेको थियो । निकै उत्साहका साथ मैले टेलिभिजनमा काम सुरु गरे।
परमानन्द खनालको दोस्रो फोन
तर काम सुरु गरेको ११ औँ दिनमा मलाई फेरि खनालले नै ‘गम्भीर कुरा छ’ भन्दै फोन गरे । त्यसपछि उनले रेडियो कान्तिपुरमा भएको घटनाका कारण मेरो ३ महिनापछि नियुक्ति पत्र नवीकरण नहुने भएकाले अहिल्यै विकल्प खोज्न चेतावनी दिएका दिए । मैले उनलाई ‘त्यो घटनामा त म नै पीडित थिएँ, यसलाई मेरो नियुक्ति पत्र नवीकरण नगर्ने कुरामा कसरी जोड्न मिल्छ ?’ भन्दै प्रश्न गरेँ । उनले ‘जे भएपनि कसैको जागिर त गयो नी’ भन्ने जबाफ दिएका थिए । यसबाट खनालले ममाथि षड्यन्त्र गर्दैछन् भन्ने स्पष्ट भएको थियो । भोलीपल्टै मैले यसबारे प्रधानसम्पादकलाई सुनाएको थिएँ । प्रधानसम्पादकले सुरुमा कुनै पनि प्रतिक्रिया दिएनन् । पछि ‘तपाईँहरुको व्यक्तिगत सम्बन्ध केही होला, मैले थाहा पाउनु जरुरी भएन’ भने । मैले उनलाई भने, ‘मैले संस्थाको हितविपरित काम गर्दा, गल्ती या कमजोरी हुँला मलाई निकाल्ने अधिकार तपाईँलाई छ । त्यो बेला म तपाईको निर्णय स्वीकार गर्छु । तर बिना गल्ती खनालले भने जस्तो भयो भने मैले सहने छैन ।’ यसका साथै मैले मेरो हरेक कामको मुल्याङन गर्न पनि उनलाई विशेष आग्रह गरेका थिए । त्यसपछि प्रधानसम्पादकले मलाई ‘अरुका कुरा नसुन्होस्, चिन्ता नगर्नुहोस्, काम गर्नुहोस् ‘भनेका थिएँ । प्रधानसम्पादकले यति भनेपछि म पहिले झैँ काममा खटिएँ । अहोरात्र काम गरेँ । टेलिभिजनमा काम गरेरै रात पनि बिताएको छु । मैले हरेक दिन दिइएको जिम्मेवारी पुरा गरेको रेकर्ड छ । यो बीचमा मैले बिरामी बिदा लिन पाइन । साप्ताहिक बिदा पनि ३/४ दिन लिएको छु । समाचार कक्षको बैठकमा मेरो हरेक जसो कामको प्रशंसा हुन्थ्यो । सहकर्मी साथीहरुले हौसला दिइरहनु भएको थियो। तर खनालले दिएको चेतावनी, पाठकले दिएको त्यसको प्रतिक्रियालाई लिएर म चनाखो थिएँ । मनको एउटा कुनामा चिसो भइरह्यो । त्यसैले म बडो गम्भीर र संवेदनशिल थिएँ । मलाई निकाल्न संस्थाले कुनै पनि बहाना नबनाओस् भन्नेमा म सतर्क थिएँ ।
कान्तिपुर टेलिभिजनको जागिरबाट निकाल्ने निर्णय
अन्ततः म जे कुरामा सशंकित थिएँ त्यही भइछोड्यो । नियुक्तिपत्रको अवधि सकिन मात्र २ दिन बाँकी छँदा मंसिर २८ गते मेरो नियुक्तिपत्र नवीकरण नहुने जानकारी मलाई टेलिभिजनको मानवसंसाधन विभागका एसिस्टेन्ट म्यानेजर केशव खड्काले सुनाए । मैले उनीसँग तत्कालै त्यसको कारण मागे। ‘मलाई कारण केही थाहा छैन । कारणबारे कि परमानन्द खनाललाई सोध्नुहोस् या प्रधानसम्पादकलाई’ उनको जवाफ थियो ।
गैरजिम्मेवार बने प्रधानसम्पादक
मैले त्यसै दिन प्रधानसम्पाकलाई यसबारे सुनाए । सुरुमा उनी यो घटनाबारे आफू जानकार नभएको जस्तै गरी प्रस्तुत भए । मैले उनलाई सोधेँ, ‘के तपाईँलाई यसबारे थाहा छैन ?’ उनले भने, ‘आइ वील चेक’ मलाई उनको जबाफले तर्सायो । ‘मैले काम गर्दा केही गल्ती गरेको छु?,’मैले फेरि प्रधानसम्पाकलाई सोधेँ । ‘नो’, प्रधानसम्पादकको जवाफ थियो । ‘मैले संस्थाको हित बिपरित काम गरेछु?,’ मैले फेरि प्रधासम्पाकलाई सोधेँ । ‘अब्सोलोट्ली नो’, प्रधानसम्पाकले भने। ‘त्यसो भए मेरो नियुक्तिपत्र नविकरण नगर्ने निर्णय किन गरियो,’ मैले फेरि उनलाई सोधेँ । उनले फेरि भने, ‘आइ वील चेक।’ उनले मेरो नियुक्तिपत्र नवीकरण नगर्नुको कारण दिन नसकेपछि मैले उनलाई भने , ‘अब मैले सहने ठाउँ छैन । बिद्रोह गर्छु ।’ उनले मलाई भने, ‘यस्तो बेला एग्रेसिभ हुनुहुन्न । स्ट्रेस भए केही दिन बस्नुहोस्।’ त्यसअघि जुनसुकै जटिल परिस्थितिमा पनि मैले डटेर काम गरेको रेकर्ड थियो । अब किन बिदा बस्ने? म बिदा बस्न मानिन् । तर त्यो दिन काम गरेर घर जाँदै गर्दा हाजिरी सिस्टमबाट मेरो नाम हटिसकेको रहेछ । भोलीपल्ट त्यसबारे बुझ्न मैले प्रधानसम्पादकलाई फोन गरे। फोन उठेन । टेलिभिजनमै कार्यरत एक सिनियरलाई फोन गरेर सबै घटनाक्रम बताएँ । उनले भने, ‘मर्नुछ र तपाईँको रिन्यु नहुनु ? खुरुखुरु अफिस आउनु अनि हिजोअस्ती झैँ काम गर्नु । हाजिरको मतलब नगर्नु ।’ म तत्काल अफिस गएँ । काम गरे । तर दिउँसो काम गर्दागर्दै मलाई मेरो पोलिटिकल व्यूरोचिफले फोन गरेर गम्भीर कुरा भएकाले कामबाट फर्किन आदेश दिए। तर म आफूलाई दिएको जिम्मेवारी पुरा गरेरै अफिस पुगेँ । अफिसमा पुगेर पनि व्यस्त भएँ । मेरो पोलिटीकल व्यूरो चिफ अफिसबाट निस्किसकेका रहेछन् । मैले काम सकेपछि उनलाई फोन गरे । ‘तपाईँलाई अफिसले केही दिन बिदा बस्न भनेको छ । यो मैले भेटमा भन्ने आँट गर्न सकिन,’ उनले भने । मलाई विदा बस्न लगाउने प्रधानसम्पादक नै थिए । म बिदा बस्न बाध्य भएँ । भोलीपल्ट बिहान ९ बजेतिर प्रधानसम्पादकलाई फोन गरेँ । मलाई कति समयका लागि बिदा बस्न लगाउनु भएको हो भनेर उनलाई सोधेँ । उनले अहिले म ‘मेरो प्यारेन्ट्ससँग छु’ भनेर फोन राखे । त्यसपछि केही दिनको अन्तराल पारेर मैले उनीसँग मेरो नियुक्तिबारे पटकपटक अपडेट लिन खोजेँ । तर कहिले उनले ‘काठमाडौँ बाहिर भएको, पुगेपछि अपडेट गराउँछु’ भने । कहिले ‘आफू बिरामी भएको, अफिस नियमितरुपमा नगएको, बाँकी जानकारी पोलिटिकल व्यूरोचिफले मलाई गराउने भनेर’ मेसेज पठाए । तर पोलिटिकल व्यूरोचिफले आफूसँग कुनै अपडेट नभएको भनिरहे । यसो गर्दागर्दै २ साता बित्न लागिसकेको थियो । त्यसपछि म कान्तिपुर मिडियाग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियासमक्ष न्याय माग्न पुगेको थिएँ । तर उनले निष्कर्षमा भने, ‘ तपाइँ राम्रो पत्रकार हो मलाई थाहा छ, तर तपाईँकै प्रधानसम्पादकले तपाईको नियुक्ति नवीकरणका लागि सिफारिस गरेका छैनन, म के गरु?’ प्रधानसम्पादकले भने यो कुरा अस्वीकार गरे । उनले भने, ‘एचआरले बजेटको इस्यु देखायो ।’ प्रधानसम्पाकको कुरा मैले पत्याउने आधार थिएन । बजेटको समस्या हुन्थ्यो भने मपछि कान्तिपुर टेलिभिजनले समाचार कक्षमै ४ जना पत्रकार राखिसकेको थियो।
पत्रकार महासंघले किन सुरु गर्यो आन्दोलन ?
मेरो आन्तरिक लडाईँ असफल भएपछि मैलले ममाथि भएको अन्यायविरुद्ध खुलेर लड्ने निधो गरेँ । तर त्यो भन्दा पहिले पत्रकारिता क्षेत्रकै मेरा केही अग्रज, साथीभाईसँग सल्लाह लिएन चाहेँ । अधिकांशले कान्तिपुरले ‘यस्तै बद्मासी गर्दै आएको छ तर तपाईँ नलडेकै बेस’ भनेर सुझाए । तर केही साथीहरुले लड्नलाई हौसला थिए । वास्तवमा मेरो लडाइमा साथ दिने निकै कम भेटेको थिएँ। म अन्यौलमा परेको थिएँ । त्यही बेला पत्रकार महासंघका साथीहरुका धमाधम फोन आउन थाल्यो । सबैले मलाई लड्न सुझाए, आफूहरु मेरा लागि लड्ने प्रतिवद्धता पनि जनाए । त्यसपछि मैले लडाईमा होमिने निर्णय गरेँ । मेरो पुनर्वहालीको एक मात्रै माग राखे पत्रकार महासंघले पहिलो चरणमा कान्तिपुर टेलिभिजनलाई स्पष्टीकरण पत्र पठयो । १ वटा पत्र पठाउँदा पनि टेलिभिजनले चित्तबुझ्दो जबाफ दिएन । त्यसपछि महासंघले माग पुरा नभए चैत्र १० गतेदेखि कान्तिपुर टेलिभिजनविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए तेस्रो पत्र पठायो । यो पत्र पाएपछि कान्तिपुर टेलिभिजनले वार्ताबाटै समस्याको समाधान गर्ने मौका दिन महासंघलाई आग्रह गर्यो । महासंघ पनि त्यसमा राजी भएर कान्तिपुर टेलिभिजनसँग वार्ता सुरु गर्यो । वार्तामा कान्तिपुर टेलिभिजनले ममाथि अन्याय गरेको स्वीकारिसकेको थियो । पछि फेरि उ मौन बस्यो । त्यसैले कान्तिपुर टेलिभिजनविरुद्ध महासंघले विरोधका कार्यक्रम गर्न बाध्य भयो । मैले पनि खुलेरै लड्ने निधो गरेँ ।
मलाई पुगेको क्षति
म व्यसायीक पत्रकार हुँ । पत्रकाररिता नै मेरो एक मात्र मुख्य पेशा हो । अनवरतरुपमा आफ्नो पेशमा आवद्ध भइरहँदा कान्तिपुर टेलिभिजनले अचानक मलाई निकाल्दा म आर्थिक रुपमा ठूलो संकटमा भासिएको छु । मैले इमान्दारितापूर्वक काम गर्दागर्दै पनि बिना गल्ती कान्तिपुर टेलिभिजनले मलाई निकाल्दा मेरो सामाजिक प्रतिष्ठानमा पनि आँच पुगेको छ । बजारमा मैले कुनै गल्ती गरेका कारण यो टेलिभिजनले मलाई निकालेको हो भन्ने हल्ला चलाइएको छ । यसले मेरो करिअरमै धक्का लागेको छ । मैले अहिलेसम्म प्राप्त गरेका उपलब्धमाथि नै ठेष लागेको छ । यो घटनासँगै अब अरु मिडियामा पनि मैले आफ्नो क्षमताअनुसार काम नपाउने सम्भावना छ । यो घटनाले मेरो स्वास्थ्य अवस्था पनि नराम्ररी बिग्रिएको छ । मैले यो बीचमा निकै ठूलो पीडा सहनु पर्यो । ममाथि यस्तो अत्याचार होला भन्ने कल्पना पनि गरेको थिएन । किनकी म आफ्नो श्रममा विश्वास गर्ने पत्रकार हुँ ।
दिपा दाहाल
पत्रकार,कान्तिपुर टेलिभिजन