काठमाडौं,
नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टी कार्यालय थापाथलीमा एमाले र परिवार दलबीच ३० वैशाखमा हुने स्थानीय चुनावमा गठबन्धन गर्ने सहमति भएको हो । सहमतिसँगै परिवार दलका उम्मेदवार सूर्य चिह्नबाटै चुनाव लड्ने भएका छन्।
पाँचबुँदे सहमतिपत्रमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर भएको छ हस्ताक्षर कार्यक्रममा नेपाल, एमालेका उपमहासचिव विष्णु पौडेल, परिवार दलका महामन्त्री प्रकाश बाबु थापा लगायत नेताहरुको उपस्थिति थियो।
सूर्य चिह्नबाट चुनाव लडेर निर्वाचित भएपछि पनि परिवार दलमै रहने सहमति पनि भएको छ । दुई दलबीच देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले परिवार दलका उम्मेदवारलाई सघाउने सहमति पनि भएको छ ।
यस्तै एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर निर्णय लिने पनि समझदारी भएको छ।
नेपाल परिवार दलका महामन्त्री प्रकाशबाबु थापाले यो गठबन्धनले अब आउने निर्वाचन परिणाम एमाले, परिवार दलको पक्षमा आउने बताए।

प्रकाशित मिति:
बुधबार, चैत ३०, २०७८, १९:३१:००