देवलोक भनुँ या ईन्द्रलोक न त तपोभूमि नै प्रकृतिक छटा र स्वर्गीय आनन्दको अनुभूति दिने यो ओन्डरल्याण्डमा म रातभर विचरण गरिरहें । यस्तो अदभूत र अलौकिक भूमिवाट विमुख हुनुपरेकोमा विस्मित हुँदै आँखा मिच्दै दिनचर्यामा लाग्नु पर्यो ।
यस्तै अपूर्व अनौठो प्राकृतिक मुग्धता यस अघि पनि एकपटक भएको थियो । कल्पनाको कुनै अंशमा पनि नसोचिएको स्थानको दृष्य अवलोकन भएकोलाई प्रख्यात मनोवेत्ता फ्रायडको चिन्तनलाई नै ठोकुवा गरिएको थियो । कल्पनातिरेक अव्यक्त आशक्तिको उद्वोधन होला भन्ने सारमा लिईएको थियो ।
परिदृष्यको परिकल्पित त्यो अदभूत स्वप्नलोकको दृष्य हुवहु यथार्थतामा आँखा अगाडि लम्पसार परेर उपस्थित भयो कयौं वर्ष पछि जव सिउलदेखि वुसानसम्मको सवारी यात्रमा थिएँ । एकछिन भावातित यथार्थताको यो टेलिप्याथि वर्षौं अगाडि कसरी हुन गयो होला ।
हुवहु मेरो दृष्टिपटलमा अवतरित त्यो आनन्दित सहरलाई अवाक हेर्दै रहें । त्यो वास्तुकलाको नमुना, आधुनिक सहरी सभ्यताको लागि आवश्यक सवै सुविधायुक्त, स्फटिक सफा र सुन्दर मानव वस्ति। तिनतिर घना कुञ्ज हरियाली । बस्तिको पछाडी पहाडि आभाष दिने तरेली परेको गिरीराज, कतै कतै मौसमी पुष्प उद्यान । चैतमास थियो म त्यहाँ पुग्दा । बनै हरियो, रातो र सेतो पुष्प लहराहरुले सुशोभित र अल्हादित थियो । प्रकृति प्रदत्त भन्दा पनि मानव निर्मित यो अदभूत दृष्यको अपलक आस्वादन गर्ने अवसर मिलेको थियो ।
तर अहिले । थकित योद्धाले आफ्नो सवै अस्त्र र परिधान विसर्जन गरेर घरको पिँढिमा मात्र सिमित भएको अवस्थामा रङ्गीन मनोरम् मनोहारी दृष्य आँखामा आएर बस्दा जीवनलाई उद्वेलित गर्ने रहेछ । त्यो त्यस्तै थियो ।
हो त पर्वतीय पर्यायवरण नै तर मानस पर्वत पनि होईन, न त मानसरोवर । शीव जी विचरण गर्ने कैलास पर्वत पनि हैन, तर हो हिमश्रृंखला उत्तराञ्चलमा लहरै टल्किएका पर्वतमाला । म बसेको स्थानबाट उत्तराभिमुख भएर हेरिरहेको छु । यी उत्तुङ्ग हिमाच्छादित हिमशिखर भन्दा दक्षिणमा तरेली परेको रम्य पर्वतमाला छ । त्यसको ठिक्क मुनि, म बसेको स्थानबाट पनि तल देखिन्छ कञ्चन कतै निलो पानीको रह त कतै चट्टानमा ठोक्किदै झर्दा सेता पानीका भुल्का, कतै झरना अनि बनेका ईन्द्रेणी तरङ्ग ।
म आफू बसेको स्थानको दायाँ, र बायाँ बारिका कान्ला, हरिया बनस्पतिका र फलफूलका बगैचा । कतै कतै खेतिका लाग मिलाईएका गहराहरु । मेरो घरको पछाडि दक्षिणतिर अलि परवाट मात्र आधुनिक सडक, सहरको बस्ति । अनि मेरो घर भिक्टोरियाकालिन बास्तुकलामा बनेको र सिपालु कारिगरीले सजाईएको भव्य महल । त्यो महलको पटांगिनीमा बसेर म प्रकृतिको यो अनुपम उपहारको आस्वादन लिईरहेको थिएँ । हुन त त्यो देवलोक थिएन तर दिव्यलोक थियो ।
रातभर दिव्यलोकको विचरण गर्न पाउँदा कम्ता आल्हादित थिईन । ब्युँझिन नपरेको भए, यहि आलोकमा म अझै हराई रहने थिएँ । कोहि आँखिर किन दिव्यलोकको निशुल्क यात्रा त्याग्ला ।
के थाहा भोलि कतै विपनामा यथार्थ भएर आँखा अगाडी ठिङ्ग उभिन आउने पो हो कि ।
राजाराम बर्तौला
पूर्व उपनियोग प्रमुख नेपाली राजदुतावास दक्षिण कोरिया