फाल्गुण महिनाको आगमनसंगै बतासमा उष्णताको प्रभाव देखिन्छ । कठ्याङ्ग्रिने चिसोको कहरवाट मुक्त हुँदै बतासको आद्रतामा खुसि साँट्न अटेसमटेस गर्दै पालुवाहरु टुसाउँछन् । पात झरेर नाङ्गा भएका बोटबिरुवाहरु जुरमुराउँदै उठ्छन् हरिया पातहरुले लपेटिएर । यी बिरुवाहरु खुसि लिएर आउँछन् डाँठ डाँठमा कापकापमा राता, हरिया, पँहेला, र अरु रँगिन रँगहरु फूलका पत्रपत्रमा सजिएर आउँछन् ।
गुराँस फुल्छ पाखाहरुमा रातै तरेलि परेर बतासले आँखै अगाडी ल्याउँछ प्रकृतिको मादकता । पाखाहरु, लेकहरुका भित्ताहरु सजिन्छन् नवदुलहीझैं सृंगारले सजिएर फाल्गुणमा । चैत्रको चटपटमा चहकिंदै, महकिंदै वासन्ति चोला । देउरालीमा नवयौवना हातमा गुराँसको थुँगा लिएर हाँसेकि, छैन त म गुराँसजस्तै फुलेकि?
सालघारी चैत्र महिना वासनायुक्त हुन्छ । अरु विविध प्रजातिहरुको फूलको माधुर्यमा, रँगेली घोलले पोतिएर मधुवन रमाउँछ । मधुवन आफैमात्र कहाँ हो र राधिकाहरु समेत रमाउँछन् । प्रकृतिको रँगमा रमाउने राधिकाहरु मधुवनमा लुकामारि खेल्छन् कृष्णसँग । कृष्ण प्रेम हो र प्रेम प्रकृति । अनि राधा र कृष्णको प्रेमिल जोडि प्रकृतिप्रदत्त रंग र रसको अनुपम आलोक, श्रृजनाको ।
फागु पूर्णिमाको अवसरमा यहि प्रेम, प्रकृति र रंगको विम्व हो रंगपर्व होली । काले कृष्णले गोरी राधाको गालामा रातो अविर दलेर व्यक्त गरिने प्रेम भाव वास्तवमा रंगसंगको मानवीय लगाव र चरित्र हो । प्रकृतिको श्रृजना र यसको सौन्दर्यताको अनुपम संयोजन । सद्भाव, बन्धुत्व, आपसी प्रेम, आकर्षण र सन्तुलन हो फागु पर्व ।
समाजलाई जिवन्त राख्ने भनेकै साँस्कृतिक धरोहरहरुले हो । बिर्सिनजाउन आउने पुस्ताले भन्नाका खातिर मिथहरुको श्रृजना गरिन्छ, पौराणिक कथाहरु वाचन गरिन्छ । समाजलाई चलायमान राख्न यस्को ईतिहास चाहिन्छ । त्यहाँ भित्रका कुपात्र र सुपात्रहरुको संघर्ष र बलिदानका कथा चाहिन्छ । बीरताको, बलिदानको, त्यागको अनुपम मिसालहरु खडा गरिन्छन् । यअी सवै समाजको गतिशीलताको लागि गरिन्छ ।
कृष्णले राधाको मुहारमा फागुको रंग दल्ने र पिच्कारीले लेहंगा भिजाउने काम पुर्खा दरपुर्खा हुँदै आएको छ । श्रृष्ठिको चक्र चलेसम्म प्रेमका पुजारीहरु पिच्कारीले रंग छिप्दै जानेछन् । मात्र के भने श्रृष्ठिको यो अनुपम सिर्जनशीलतालाई सौन्दर्यताको रंगीन आँखाले हेर्न सक्नुपर्यो ।
बसन्त ऋतुको आगमनसँगैः
'म त लालि गुराँस भएछु
बनैभरि फुलिदिन्छु
मनैभरि फुलिदिन्छु ।'
रंगको रहरहरुसंगै
म त फागु भएछु
रहरहरु सजाएर
म रंगभरि दिन्छु
म त रंग भएर सजिदिन्छु ।
फागुपूर्णिमाको हार्दिक शुभकामना
सर्जक
राजाराम बर्तौला
नेपाली राजदूतावास दक्षिण कोरिया पूर्व उपनियोग