माता शत्रुः पिता वैरी येन बालो नपाठितः ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा ।।
माथिको उद्धरण चाणक्य नीतिको श्लोक हो। हेटौंडा बजारबाट हिंडेर नवलपुर आउँदा रापती नदी तरेपछि सम्वादको क्रममा गंगाविक्रम सिजापतिले मेरो पिताजीलाई सुनाएका हुन् । पिताको साथमा हिंडिरहेको बालकतर्फ लक्षित गर्दै छोरालाई पढाउन पर्छ भन्ने अभिप्रायले भनिएका हुन् । त्यस समयको गाउँ, यद्यपी हेटौंडा भरखर नगरपालिका बनेको थियो, सावाँ अक्षर पढेपछि पुगिहाल्यो नि भन्ने थियो । बयस्कहरु स्कूल कलेज धाएर पढ्नु भन्दा घरवाट निक्लेर कमाईधमाई गर्नु श्रेयकर सम्झन्थे ।यहि परिवेशमा हुर्कंदै गरेको मेरो उमेर देखेर सिजापतिज्यूले मेरो पिताजीलाई छोरो पढाउन पर्छ भनेर प्रेरित गरेका हुन् भन्ने लाग्दछ ।
एसएलसी पास त गरियो २०३१ सालमा। तर यो भन्दा माथि पढ्न हेटौंडामा कलेज थिएन । प्रमाणपत्र तहसम्म पढाई हुने बन बिज्ञान अध्ययन संस्थान थियो हेटौंडामा । यसमा पढ्ने सवैजसो विद्यार्थीहरु तराईवासी हुने गरेकाले यहाँ पढ्न कसैले प्रेरित नै गरेनन् । आफूलाई बन बिज्ञान उच्च अध्ययन हो भन्ने पनि लागेन । यस्तो अवस्थामा कलेज पढ्न कि त बीरगञ्जको ठाकुरराम बहुमुखि क्याम्पस जान पर्यो कि त काठमाण्डौ । काठमाण्डौमा बसेर पढ्न आर्थिक हिसावले कठीन थियो ।यि सवै देखेकोले अव यतिसम्म नै हो पढ्ने भन्ने लागेको थियो ।
'बाँच्नको लागि हातमा सीप हुनुपर्छ । पढेर मात्र के गर्छौ नानी,' एकजना पण्डितले भनेका थिए । मनमा सोच्दै थिएँ, 'डाँडो काटेर मुग्लान पो छिर्ने हो कि, या ड्राईभर बन्न खलाँसी बन्ने पो हो कि ।' निर्णय गरिसकेको भने थिईन । निर्णय गरेर मुग्लान पसेको भए दिल्लीको गल्लीमा 'जागे रहो' भन्ने जागीर पक्का थियो नभए क्या नाम पुँचको लडाई नभए अर्को कुनै लडाईमा बेवारिसे शहीद । कथम् बाँचेको भए गुमनाम सहरमा अहिले जसरी लेख्दैछु त्यसै गरी युद्धको विभिषिका संस्मरण लेख्दो हुँ ।
तीन चार दिनदेखिको वर्षाले रापती उर्लिएको थियो । तिनताक रापतीमा कलभर्ट मात्र थियो अहिलेको जस्तो पुल थिएन । नारायणघाटदेखि आएका सवारी साधनहरु पुलवारी नै रोकिएका थिए । खोलो घटेर पारी बजार पुगौंला भन्ने सम्भावना नै थिएन । उता त्रिविको सूचनावमोजिम भर्नाको लागि दरखास्त दिने म्याद चारदिन मात्र बाँकि थियो । यस्तो अवस्थामा पिताजिले काठमाण्डौ गएर पढ्न सरसामल र रकमको जोहो गरिदिनु भयो । जान त जाने तर कसरी जाने रापतीले बाटो छोडे पो । रापतीको किनारमा बसेर दुईदिन हेरियो । केहि जोर चल्ने देखिएन ।
हरिशरण सुवेदी पनि मसंगै पढन जान तयार भएर घरबाट हिँडेका थिए । हरिशरणको मातापिता थिएनन् तर पितातुल्य दाई थिए -सवैका भाईकान्छा दाई ।काठमाण्डौ गएर कानून पढ्ने भन्ने हरिशरणको अठोट थियो, मेरो भने त्यस्तो केहि थिएन ।
ढीट र हठी रापतीको अगाडी हाम्रो केहि नलागेपछि हरिशरणले मेरो पिताजीलाई हिँडेर डाँडा चढेर जान अनुमति मागे । डाँडै चढेपनि बाटोमा दुईवटा खहरे तर्नु पर्छ । अल्लारे केटाहरुलाई एक्लै छोड्दा खहरेको बेगलाई कमआँकेर हेलिए भने बगाउन कत्तिबेर लाग्दैन । भनिएकै छ आगो र पानीको विश्वास नगर्नु । हामीमाथि पिताजीलाई भर भएन, आफू पनि सँगै पहाड चढ्ने हुनु भयो ।
रापतीको किनारलाई पछ्याउँदै कहिले डाँडाको टुप्पोमा कहिले फेदिमा, चट्टानमा टेक्दै, भीर पखेरा छाम्दै हाम्रो गति अगि बढी रह्यो । विहानदेखिको अविरल, विश्रामरहित, पहरोसँग संघर्ष गर्दै अगाडी बढ्दै गर्दा भोक र प्यासले थकित र गलित बनाए पनि साहसमा किञ्चित कमि थिएन । पानी पानीले जमीन भिजेको छ, नदी, र नाला भरिएका छन् तर 'जता हेर्यो पानी, छैन पिउने पानी' भनेझै भएका थियौं हामी ।
उक्लिदै जाँदा, पहाडहरुको थुम्कोमा बस्ती भेटियो । बस्ती के भेटियो जुँगामुठे हरियो मकैको खेती भेटियो, थकाई मेट्ने छहारी भेटियो । भेटियो तामाङ्नी दिदीको आतिथ्य । तामाङहरु डाँडाको टुप्पामा बस्न रुचाउँछन् जत्ति नै कष्ट भए पनि । डाँडामा बस्नेलाई खानेपानीकै दुःख । पानी मागे मोहि पाईन्छ ।हामी पनि पोलेको मकै, मुलाको साग र मोहि खाएर अघायौं ।
भोक भन्दा पृय भोजन अर्को कुन छ? सन्तोष भन्दा आनन्द अर्को कुन होला? आज भन्दा सतचालिस वर्ष अगाडी खाएको पोलेको मकै, मुलाको साग र मोहिको स्वाद र सम्झना अहिलेसम्म छ । कति राजषी खानाको परिकारहरुको स्वाद यो जिब्रोले लियो होला तिनीहरुको नामसम्म याद छैन, तर त्यो तामाङनी दिदीको सत्कार ।
पेटभरी कोचेर नखाउ भन्थे हाम्रा बा आमाले । धेरै खाए अजिर्ण मात्र होईन अल्छी र आलस्यले घर गर्छ भन्छन् । मकै र मोहिले पेट टम्मै भरेछ । छचल्किएर केहिबेर हिँड्नै कठीन भो । जे भए पनि यात्रामा विश्राम गर्ने फुर्सद कहाँ । पहाडमा हिँड्दा हातको घडि भन्दा सूर्यको जुवा नाप्न पर्दछ ।डाँडापारी घाम पुगेपछि दिन ओह्रालो लाग्दछ,डाँडामा घर हुनेहरु बासको लागि उकालो । हामीहरु भने छिटोछिटो ओह्रालो झर्यौं । घाम डुब्नै लाग्दा भैंसे बजार आईपुग्यौं ।भैंसेबाट हेटौंडा बजार एघार किलोमिटर मात्र हो । कस्सिएर हिंड्दा दुईघन्टाको बाटो । त्यहि रापती पारी नवलपुरदेखि भैंसेसम्मको दुईवटा शिखर नाध्न हमीहरुलाई पुरै एकदिन लाग्यो ।
बजारमा ट्रकको सिटमा राखेर सुखद भविष्यको कामना गर्दै पिताजीले हामीलाई विदाई गर्नु भयो ।
राजाराम बर्तौला
पूर्व उपनियोग प्रमूख
नेपाली राजदुतावास दक्षिण कोरिया