अध्यात्म सामान्यतया भगवानको भक्तिसङ्ग जोडेर चर्चा हुने गर्छ। हाम्रो समाजमा पूजापाठ, भजन किर्तन र उपवास बस्नेलाई ‘आध्यात्मिक’ भनेर चिनिन्छ। पुरातन आस्थावादी सोचले आध्यात्मलाई यो स्वरुपमा चिनायो र यहि अंगिकार गर्न सिकायो। तर अध्यात्मको मूल अर्थ हिन्दु धर्ममा सिमित भगवान सम्बंधी ईश्वरीय चर्चा वा ईश्वर ज्ञान कदापि होईन। आत्मा र आध्यात्म फरक फरक कुरा हुन्। कहिल्यै नास नहुने(अमर) तत्व आत्मा हो भने त्यो प्रत्येक चिजको आफ्नो स्वभाव(मुलभाव) आध्यात्म हो।
अध्यात्म कुनै पारलौकिक शक्ति वा दर्शन होइन। अध्यात्मको शाब्दिक अर्थ ‘स्वयं को अध्ययन (अध्ययन-आत्म) हो। प्रत्येक जीवित प्राणीको शरीरमा फरकफरक पृथकताबादी सत्ता हुन्छ त्यही नै अध्यात्म हो। त्यो पृथकतालाई जब मानिस आफुमा समाहित गरेर स्व-भाव ब्याख्या गर्छ र आध्यात्ममा 'स्व' को महत्वपूर्ण स्थान हुन्छ। ‘स्वयं’ शब्द यसैको विस्तारित रुप हो। यहीँ स्वयंको ज्ञानलाई नै आध्यात्म भनिन्छ। सबै प्राणीले एक न एकचोटि देह त्याग गर्नुपर्छ। जब सम्म जीवित रहन्छन् तबसम्म 'स्व'(स्वयं) रहन्छ। 'स्व'(स्वयं) रहेसम्म सुख शान्ति, एक अलग्गै संसार, मनमा जिज्ञासा, विज्ञान र दर्शनको अध्ययन भैइरहन्छ। प्रत्येक ‘स्व’ मा एक देह, मन, बुद्धि, विवेक, सामाज हेर्ने दृष्टिकोण र विचार समिष्टिगत छ। यो सबै मिलेर प्राणी भित्र एक नयाँ ब्रह्माण्ड बन्छ। त्यो ब्रह्माण्डलाई अनुभुती गर्ने हो भने निजी अनुभूति, आफ्ना इष्टमित्र, मायामोह र आफ्नोपन हुन्छ। अब यो सबै मिलेर ”एक भाव” बन्छ र त्यो भावलाई हामी ‘स्वभाव’ भनेर चिन्छौं। स्वभाव नितांत निजी ब्यक्तिगत अनुभूति हो तर यस्मा आमाबुबा, साथिभाई, इष्टमित्र र सम्पूर्ण समाजको प्रभाव परिरहेको हुन्छ। जब 'स्वभाव' निजी सत्ता र बाहिरी प्रभाव स्वीकार गर्छ तब त्यो बाहिरी प्रभाव स्वभावमा घुल्छ। प्रभाव घुल्न सकेन भने जीवन अगाडी बढ्दैन।
स्वभावमा आफ्नोपन बचाउने इच्छा हुन्छ। आफ्नोपनको रक्षाको लागि अतिरिक्त सुरक्षा भाव पनि उत्पन्न हुन्छ। यहि उत्पन्न भाव नै ‘स्वाभिमान’ हो। स्वाभिमान, स्वभाव, स्वार्थ र स्वयंको विशिष्ट बनाउन खोज्ने भावले नै स्वभाव माथी प्रभावको जित हुँदैन र स्वभावमा प्रभाव घुलित हुन्छ। तर बाहिरी प्रभावले हक जमायो भने बिस्तारै परिवर्तन हुँदै जान्छ। त्यही परिवर्तन हुन नदिन आध्यात्म जान्न र हुनु जरुरी छ। होता। तर एक तितो सत्य के पनि हो भने स्वभाव देहसङ्ग जोडिएको हुनाले यो अमर छैन। देह सङ्गै यस्को पनि अन्त्य हुन्छ।
विकासको क्रममा स्वभाव, स्वार्थ अनि स्वाभिमानको पनि सङ्गै विकास भइरहेको हुन्छ। स्वाभिमान र स्वार्थ दुई किसिमले विकास हुन्छन्, एक निजि र अर्को सामाजिक। निजी स्वार्थ केवल आफ्नो र परिवारको हितको बारेमा सोच्छ र त्यहीँ विलय हुन्छ भने सामाजिक स्वार्थ गाउँ , समाज र समग्र राष्ट्र हुँदै त्यो भन्दा पनि माथी उठ्छ। स्वभिमान पनि यसरि नै काम गर्छ। ब्यक्तिगत स्वाभिमान र स्वार्थ भन्दा माथी उठ्न सकियो भने सम्पूर्ण सजिव/निर्जीव(विश्व) र बिशेष: विश्वभरि मानव कल्याणको लागि काम गर्न सकिन्छ।
‘स्व’ को क्षेत्र(परिधि वा सीमा) हामी स्वयंको शरीर मात्रै नभएर विश्व समुदाय, सम्पूर्ण प्राणी जगत, बनस्पति जगत र पुरै ब्राह्मण्ड पनि हो। तुलसीदासले ‘पर-हित’ लाई धर्म भनेका छन्। पर-हित अर्थात अरुको भलो वा हित हुने काम। यो धर्म मात्रै हैन यो स्व-हित भन्दा नि ठूलो कर्तव्य हो र यहि कर्तव्य बुझ्न अध्यात्म जरुरी छ। अध्यात्म खाली ईश्वरीय चर्चा होईन यो त ‘स्वभाव’ को जान्नको लागि चाहिने साधना हो। अध्यात्म मानव मनको एक बृहत विश्लेषण हो। जस्ले आत्मा र देहको फरक छुट्याउने र एक शान्तिपूर्ण विश्वको निर्माण गर्न जोड दिन्छ।
शरीरको भित्र आत्मा सङ्गै एक पुरै ब्राह्मण्ड लुकेको छ। स्वयं भित्रको यहि ब्रह्माण्डको अध्ययन र विश्लेषण नै आध्यात्म हो र अध्यात्म अन्तरमनको यात्रा हो जो अविरल चलिरहन्छ।