घरडी कमलेश।मकर सङ्क्रान्तिको आध्यात्मिक महत्त्व मकर सङ्क्रान्तिको खगोलीय र आध्यात्मिक महत्त्व पनि रहेको छ । यो केही निश्चित योग अभ्यासबाट उत्पन्न भएको हो, जसलाई पछि आम मानिसहरूले आफ्नो निम्ति सान्दर्भिक र लाभदायक हुने रूपमा अपनाए । यो समय योगीहरूका निम्ति एकदमै महत्त्वपूर्ण समय हुन्छ, किनकि उनीहरू आफ्नो आध्यात्मिक प्रक्रियामा एउटा नयाँ र स्वच्छ प्रयास गर्न सक्छन् । सोही अनुरूप पारिवारिक मानिसहरू, जो आफ्नो जीवनमा जे-जति गरिरहेका हुन्छन्, उनीहरू पनि त्यसमा केही नयाँ गर्ने कोसिस गर्दछन् । योग प्रणालीका थुप्रै पक्षहरू खगोलिय प्रणाली र मानव शरीरको बीचमा रहेको सम्बन्धको आधारमा विकसित भएका हुन्, ताकि हामी हरेक क्षण, हरेक मिनेट, हरेक घण्टा, हरेक दिन लगातार खगोलिय स्थितिहरूमा बढ्दो रूपमा हुने परिवर्तनको लाभ उठाउन सकौँ । उदाहरणको लागि, १०८ सङ्ख्या मानव प्रणाली र सम्पूर्ण सौर्य मण्डलको रचनामा कैयौँ रूपहरूमा महत्त्वपूर्ण छ । परम्परादेखि, यदि कसैले माला लगाउने हो भने, त्यसमा १०८ दानाहरू हुनुपर्छ । यदि तपाईं कुनै मन्त्र उच्चारण वा जप गर्नुहुन्छ, अथवा कुनै उर्जा स्थलको प्रदक्षिणा (परिक्रमा) गर्नुहुन्छ भने, त्यसलाई १०८ पटक गरिनुपर्छ । यो यसकारण हो, किनकि यदि कसैलाई यो मानव प्रणालीमाथि प्रवीणता वा पूर्ण रूपमा दक्षता प्राप्त गर्नु छ भने, उसले १०८ चीजहरू गर्नुपर्ने हुन्छ । मानव शरीरमा ११४ वटा चक्र वा बिन्दुहरू हुन्छन्, जहाँ नाडीहरूको मिलन हुन्छ । यी ११४ वटा चक्रहरूमध्ये, २ वटा चक्रहरू शारीरिक ढाँचाभन्दा बाहिर रहेका हुन्छन् । शरीरभित्र रहेका ११२ वटा चक्रहरूमध्ये, तपाईंले १०८ वटा चक्रहरूमा मात्रै वास्तवमा काम गर्नुपर्छ । तपाईंले यी १०८ वटा च्रकहरूलाई सक्रिय गर्न सफल हुनुभयो भने, बाँकी चारवटा चक्रहरू स्वतः सक्रिय हुने छन् । यो ग्रहहरूको प्रणालीमा समेत निकै सुन्दर रूपमा प्रकट भएको छ । सूर्यको व्यास (डायमिटर) पृथ्वीको व्यास (डायमिटर) भन्दा १०८ गुणा बढी छ । सूर्य र पृथ्वी बीचको दुरी, सूर्यको व्यासभन्दा १०८ गुणा बढी छ । चन्द्रमा र पृथ्वी बीचको दुरी, चन्द्रमाको व्यासभन्दा १०८ गुणा बढी छ । एउटा चन्द्र वर्षमा १०८ वटा पद वा चरणहरू हुन्छन् । जुन पथ वा कक्षमा पृथ्वीले सूर्यको परिक्रमा गर्दछ, त्यसमा पृथ्वीको १०८ पद वा अवस्थाहरू आउँछन् । पृथ्वीले मालाको दाना जस्तै सूर्यको चारैतिर १०८ स्थितिहरूमा आफूलाई व्यवस्थित गर्दछ । मकर सङ्क्रान्तिमा सूर्यको चारैतिर २७ नक्षत्र वा १०८ पद पूरा हुन्छन् अनि एउटा नयाँ चक्रको सुरुवात हुन्छ । बाली भित्र्याउने पर्व मकर सङ्क्रान्तिलाई बाली भित्र्याउने पर्वको रूपमा पनि हेरिन्छ । किनकि, यो समयमा बाली काटेर सकिएको हुन्छ अनि हामी त्यसको खुसीयालीमा उत्सवहरू मनाउँछौँ । यसदिन हामी ती सबैप्रति आभार व्यक्त गर्छौँ, जसले खेती गर्न वा बाली उब्जाउनमा सहयोग गरेका थिए । खेतीमा सघाउने जनावर र वस्तुभाउको ठूलो योगदान रहेको हुन्छ, त्यसैले मकर सङ्क्रान्तिको अर्को दिन उनीहरूमा समर्पित हुन्छ । पहिलो दिन धरतीका लागि हो, दोस्रो दिन हाम्रा लागि अनि तेस्रो दिन पशु र वस्तुभाउका निम्ति । वास्तवमा, पशुहरूको स्थान हाम्रोभन्दा अलिकति माथि हुन्छ, किनकि उनीहरूको कारणले हाम्रो अस्तित्व सम्भव भएको हो; हाम्रो कारणले उनीहरू जीवित हुने होइन । यदि हामी यहाँ नभएको भए, उनीहरू सबै खुला र खुसी हुने थिए । तर, यदि उनीहरू यहाँ नभएका भए, हामीहरू जीवित रहने थिएनौँ ।
मकर सङ्क्रान्ति— गतिशीलताको पर्व
अतः मकर सङ्क्रान्ति यो गतिशीलतालाई चिन्ने र बुझ्ने पर्व हो । गतिशीलता— उत्सवको रूपमा, जीवनको रूपमा, जीवनको प्रक्रियाको रूपमा, जीवनको सुरु र अन्त्यको रूपमा । साथै, ‘शंकर′ शब्दले हामीलाई यो स्मरण गराउँछ कि यी सबैको पछाडि जे छ, त्यो हो शि-व, जुन पूर्णतः निश्चल वा अचल छ । निश्चलता नै चाल वा गतिको आधार हो । भलै, अरू सबै ग्रहहरू घुमिरहेका भए पनि, सूर्य घुमिरहेको छैन । यदि सूर्य पनि घुम्न थाल्यो भने, हामी समस्यामा पर्नेछौँ । त्यो एकै ठाउँमा स्थिर भएर अडिएको छ । त्यसैले, अरू सबैको गतिले कुनै समस्या हुँदैन । तर, सूर्य अचल हुनु सापेक्षिक कुरा हो, किनकि हामी सूर्यलाई पृथ्वीबाट हेरिरहेका हुन्छौँ । हुन सक्छ पूरै सौर्य मण्डल नै गतिशील छ कि । अथवा, पूरै आकाशगंगा नै गतिशील छ कि ! तसर्थ, योभन्दा पनि पर जे छ, त्यो अन्तरिक्ष जसले यी सबैलाई आफूमा समाहित गरिरहेको छ वा थामिरहेको छ, त्यो पूर्ण रूपमा अचल वा निश्चल छ । जब व्यक्तिले आवश्यक काम गरी आफूभित्र निश्चलतालाई स्पर्श गर्दछ, तबमात्रै उसलाई गतिशीलताको आनन्द थाहा हुन्छ । अन्यथा, मानिसहरू जीवनको गतिशीलताबाटै आत्तिन्छन् । मानिसहरू आफ्नो जीवनमा आउने हरेक परिवर्तनबाट दुःखी र पीडित बन्दछन् । अहिलेको तथाकथित आधुनिक जीवन यस्तो भएको छ, जहाँ हरेक नयाँ परिवर्तनमा तपाईं पीडित बन्नैपर्छ । मनुष्यको सन्दर्भमा, बाल्यकाल तनाव हो, किशोरावस्था वा युवावस्था त्योभन्दा विशाल समस्या हो, अधबैँसे वा वयस्क उमेर त झनै असह्य, वृद्धावस्था तिरस्कार र डरले भरिएको, अनि मृत्यु चाहिँ उत्सव— होइन, त्यो त भयानक त्रासदीभन्दा कम हुँदैन ! जीवनको हरेक चरण वा कालखण्ड समस्या भएको छ, किनकि मानिसहरूलाई गतिशीलता वा परिवर्तनसँग समस्या छ— उनीहरू यो बुझिरहेका छैनन् कि जीवनको मूल प्रक्रिया नै गतिशील छ । तपाईं तबमात्रै परिवर्तन वा गतिशीलताको आनन्द लिन सक्नुहुन्छ, जब तपाईंको एउटा खुट्टा निश्चलतामा अडिएको हुन्छ । जब तपाईंले स्थिरता वा निश्चलता महसुस गर्नुहुन्छ, तब तपाईंको निम्ति गतिशीलता एउटा सुखद अनुभूति हुन्छ । यदि तपाईंले स्थिरता अनुभव गर्नुभएको छैन, यदि यो निश्चलतासँग तपाईंको कुनै सम्पर्क छैन भने, गतिशीलताले तपाईंलाई निक्कै सताउन सक्छ । मकर सङ्क्रान्ति यसकारण महत्त्वपूर्ण छ, किनकि यो पर्वले हामीलाई यो स्मरण गराउँछ कि गतिशीलताको आनन्द तबमात्र लिन सम्भव हुन्छ, जब हामी आफूभित्र निश्चलता अनुभव गर्दछौँ । (सद्भगुरुको अंग्रेज़ी प्रवचनको नेपालीमा अनुवाद गरिएको हो ।)