"एक पटकको नेपाली सधैंको लागि नेपाली"
गैरआवासीय नेपाली संघको आसन्न दशौँ महाधिवेशन विधान सम्मत नगएका कारण अहिले सम्म तीन पटक सम्म सरिसकेको छ।
अक्टोबर महिनामा सम्पन्न हुनुपर्ने नयाँ कार्यसमिति वर्तमान केन्द्रीय कार्यसमिति तथा निर्वाचन प्रक्रियामा देखिएका विभिन्न विवादहरुका कारण आजका दिन सम्म पनि अधिवेशनको प्रक्रिया अगाडी नबढ्नु अत्यन्त दुखत पक्ष हो।
महाअधिवेशन मार्फत नेतृत्व हस्तान्तरण भएर संस्थाको गरिमा लाई निरन्तरता दिनुपर्नेमा अहिले विभिन्न व्यक्तिवादी स्वार्थ, कुण्ठाका कारण गैरआवासीय नेपाली संघ इतिहासकै सबैभन्दा जटिल र कठिन मोडमा पुगेको छ। संस्थापक अध्यक्ष देखी पुर्व अध्यक्षहरू, संस्थाका सल्लाहकारहरू, स्थापनाकाल देखीनै अनवरतरूपमा लागेका अभियन्ताहरू लगायतको सल्लाह, सुझावलाई ग्रहण नगरी एकलौटी रूपमा बर्तमान नेतृत्व हिडेका कारण आज यो अबस्था सिर्जना भएको हो भन्नेमा हामी प्रष्ट छौं । प्रवासी नेपालीहरूको एक मात्र साझा संगठनको यस्तो हबिगतले हामी सम्पुर्णलाई दुखित बनाएको छ ।
लाखौँ गैरआवासीय नेपालीहरूको संलग्नता रहेको ठुलो संस्थामा विवाद आउनु सामान्य कुरा भएतापनि विवादहरूलाई मिलाएर अगाडि बढ्नु हामी सबैको कर्तव्य रहन्छ र यो नै सबैको हितमा हुनेछ। विडम्वना आजका दिनसम्म आइपुग्दा विवादलाई मिलाएर अगाडि बढ्नु पर्नेमा झन् झन् विवाद उत्कर्षमा पुगेको देखिन्छ यसले संस्थालाई थप कमजोर बनाएको छ l
अन्तर्राष्ट्रिय समन्वय परिषदले स्मार्ट एनआरएनए बनाउनेक्रममा निर्माण गरेको एमआईएस सिस्टमलाई आफुहरुलेनै पालना नगर्नु, आफु अनुकूल हुँदा मात्र प्रयोगमा ल्याउनु भोटिङ सिस्टममा पारदर्शिता नहुनु राष्ट्रिय समन्वय परिषद का पुर्व अध्यक्ष तथा पदाधिकारीहरुलाई सिस्टम बाटनै हटाउनु , राष्ट्रिय समन्वय परिषदहरूमा देखिएको विवादहरू, एनसिसिका नवनिर्वाचित तथा निवर्तमान कार्यसमितिमा देखिएका साना साना मतभेद तथा मुद्दाहरूलाई समयमा समाधान नगरी केन्द्रीय महाधिवेशनको मिति तोकेर अगाडी बढ्नु जस्ता कुराहरूले संस्थामा असमझदारी र विवादहरू बढ्दै गएर आज सम्म आइपुग्दा उत्कर्षमा पुगेको छ।
Advertisement

संस्थामा आएको समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नु नेतृत्वको जिम्मेवारी भएतापनि वर्तमान नेतृत्व र सम्बन्धित साथीहरू मुद्दा मामिलातिर लाग्नु दुखद छ र यस्ता कार्यहरूले संस्थालाई अहित मात्र गर्दैन कि भविष्यकालागि नराम्रो नजिर बस्न जान्छ । त्यसकारण मुद्दा, मामिला, वकिल, अदालततिर लाग्नु भन्दा सम्पुर्ण अग्रजहरू र अभियन्ता साथीहरुलाई समेटेर आन्तरिक संवाद मार्फत समाधानको बाटो तत्काल खोजिनुपर्दछ ।
संस्थाको अधिवेशनको कुनै विकल्प छैन र यथासिघ्र अधिवेशन मार्फत नेतृत्व हस्तान्तरणको प्रक्रियामा जानुपर्दछ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ । तर वर्तमान अवस्थामा गर्न खोजिएको जस्तो एक पक्षिय अधिवेशनको कुनै अर्थ नरहने हुदा र सम्पुर्णलाई समेटेर अगाडी बढ्नु पर्दछ। सम्पूर्ण गैर आवासीय नेपाली साथीहरुको विचारलाई सम्मान गरेर सबैको प्रतिनिधित्त्व हुने वातावरण निर्माण गरेर निर्वाचनमा जानु पर्दछ होइन भने खालि निर्वाचनका लागि मात्र गरिने निर्वाचनमा सहभागी हुनु र नहुनुको कुनै तात्विक भिन्नता रहदैन यसले कालान्तरमा संस्थालाई ठूलो भुमरीमा पार्ने छ।
विश्वमा ८४ भन्दा धेरै राष्ट्रहरूमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय महाधिवेशन गराउदै गर्दा सम्पुर्ण राष्ट्रिय समन्वय परिषदहरूलाई समेटेर जानुपर्ने हुन्छ वर्तमान अवस्थामा अधिकांश राष्ट्रिय समन्वय परिषदहरूको असन्तुष्टि र विरोध देखिएको हुदा केन्द्रीय महाधिवेशन तथा निर्वाचन प्रक्रिया स्वाभाविक रूपमा अगाडी बढ्न नसक्ने देखिन्छ । अहिले गैरआवासीय नेपाली संघमा महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन अमेरिका, जापान , अष्ट्रेलिया, साइप्रस लगायत थुप्रै देशमा समस्या उस्तै छ, वास्तविक एनआरएनहरु भएको देशका लागि विभेद गरिएको छ यस्ता विवादित विषयवस्तु समाधान गरेर सौहार्दपूर्णरुपमा महाधिवेशनको वातावरण निर्माणका लागि केन्द्रीय नेतृत्व साथै सम्बन्धित सम्पूर्ण व्यक्तित्वहरूलाई अनुरोध गर्न चाहान्छु।
अहिलेको विषम परिस्थितिमा समस्या समाधान गर्नुको सट्टा सरकारसँगनै मुद्धा मामिला गर्ने, दोष लगाउने, जिम्मेवार व्यक्ति भएर पनि जथाभावी बोल्ने काम भएको छ। यो गलत कुरा हो, यसले एनआरएनएलाइ दुर्घटनातिर लैजान्छ यो संघ हामी सम्पूर्ण गैरआवासीय नेपालीहरुको हो। यसमा कोहि व्यक्तिको इच्छा, गुट -उपगुट र पक्ष-विपक्षले हुँदैन। हामी बिचका समस्या समाधान गरेर बिधान र बिधि अनुसार महाधिवेशन गरेर, निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेर जानुपर्छ। यसो गर्दा निष्पक्ष भएर जानुपर्छ को जित्छ या को हार्छ यो यो दोश्रो विषय हो यो एउटा संस्थागत लोकतान्त्रिक प्रकृया हो पहिलो प्राथमिकता एनआरएनए संस्थाले सम्पुर्ण विदेशमा बस्ने गैर आवासिय नेपालीहरूको मन भावना जित्नुपर्छ।
विनोद कुँवर
पुर्व एसिया प्यासिफिक उपसंयोजक तथा वर्तमान एसिया प्यासिफिक संयोजकका उम्मेद्वार
प्रकाशित मिति:
शनिबार, पुस ३, २०७८, १०:४६:००