धेरै अघि घटेको घटना भएपनि आफ्नै परिवेसमा नजिकवाट साक्षात्कार समेत गरेको हुँदा आज अकस्मात सम्झनाको एउटा तन्तुले प्रश्न गरिरह्यो । यद्यपी, मसंग यस्को जवाफ त छैन परन्तु घटनाको विवरणलाई टिपोट गरेर विषयको सान्दर्भिकता कोट्याउन भने सक्दछु ।
अहिले उ भौतिकरुपमा हामीमाझ छैन । जसरी भौतिकवान वस्तुहरु नासवान छ भनिन्छ, र हामीहरु सवैले एकदिन यो भौतिक चोला यहिँ छोडेर जानपर्दछ भनिन्छ । र सारभूतरुपमा भनाई सास्वत छ । उस्ले पनि उस्को भौतिक शरीर यहिँ छोडेर गएको धेरै भईसक्यो । उस्को कथा कसैले नलेखे पनि, उस्को कृतिगाथा कसैले नबोले पनि, उस्को विम्व बाँकिनै छ । ऐतिहासिक धरोहरको रुपमा रहेको यो प्रतीक भनिन र लेखिन बाँकि नै छ। यो कथा हो थिङदाईको ।
उ थिङदाई हो । मात्र थिङदाई । उस्को उपस्थितिमा उसैको हातले सेवा गरेका चारपुस्ता छन् र केहि वितेर पनि गईसके। उस्को पूरा नाम के हो कसैलाई थाहा छैन । उ वेनामी थिङदाई हो । हो त यहि माटोको अनि माटोको साईनो र जन्मको सिद्धान्तले झर्रो, खाँटि बंशजको नेपाली । उस्ले नागरिकताको खोस्टो कागज लिन पनि परेन र जीवनभर नागरिक अधिकारको पञ्जापत्र वापत कसैलाई मतदान गर्नु पनि परेन। जीवनभर नागरिक भएर पनि अनागरिक बाँच्यो ।
अहिले आएर यसो सोच्दछु कि 'थिङदाई'ले किन स्वतन्त्र जीवनको लाभ लिनबाट आफूलाई वञ्चित राखेको होला? उस्लाई स्वतन्त्र बस्ने निर्णय लिन कुन परिवन्द र सोचाईले रोक्यो होला? स्वतन्त्र भएर स्वच्छन्द जीवनयापन गर्दा आफूलाई सुरक्षित हुन नसक्ने विचार गरेर पो हो कि? पारिवारिक जीवन बोझिलो हुन्छ र आर्थिकरुपमा कठीन हुन्छ भन्ने भयले पो कि? वा फकिरतुल्य एक्लो जीवनको निर्वाध र उन्मुक्त सारको तृप्तिले? यी यावत प्रश्नहरुकोबीच अलि फरक के लाग्दछ भने मानिसको भावनालाई, विचारलाई, शोचलाई, परिवन्ध र परिवेशले संकुचित गराउंछ । भौतिकरुपमा वन्धनमा परेको मानिस पराधिनता स्वीकार्दैन, उन्मुक्तिको चाहना राख्दछ । उन्मुक्तिको लागि वारम्वार गरिने असफल प्रयासहरुले, हारका चोटहरुलाई आत्मसात गरेर भाविको लेखा भन्दै यथास्थिलाई स्विकार्नु परेको वाध्यता सन्तान दरसन्तानमा पुस्तान्तरण हुन्छ अनि मानसिक चेतनाको संकुचनले फराकिलो आयाम लिन सक्दैन । फलत: सोचाईले पनि दासता स्वीकार गर्दछ ।सिमित परिधि भित्र प्राप्त सन्तुष्टिको धेरा नाघेर जाने हिम्मत गर्न सक्दैन ।
अनिकालको पिडा सहन नसकेर थिङदाईको बाउआमाले आफूहरु नबाँचेपनि छोरो एउटा कसैको जुठोपुरो खाएर भएपनि बाँचोस् भन्ने अभिप्रायले हाम्रो हजुरबुवाको हातमा सुम्पिएर गएका थिए रे । चरम गरिवीको पिडा र त्यसमाथि रोगब्याधिसमेतले च्यापेपछि मानिसले बाँच्ने आश गुमाउछ । शायद थिङदाईको बाउआमा यस्तै अवस्थामा थिए । ४/५ वर्षको कलिलो केटोलाई घरमा राखिदिन निकै अनुनय विनय गरेका थिए रे । 'यो वालकलाई हामी पाल्न सक्दैनौ' भन्दा पनि 'जुठोपुरो खाएर हुर्कन्छ, कथम् मर्यो भने हामीलाई गाडेको ठाउँमा गाडिदिनु' भन्दै छोडेर गएका थिए रे ।
हुन त हामी नेपालीहरु धेरैजसो पहाडी नै छौं । सांस्कृतिकरुपमा तामाङहरु पहाडमा नै जनजीविका चलाउन रुचाउंछन् । पहाडको खोरिया खनेर जीविका चलाउनु कम कष्टकर होईन । त्यसमाथि खडेरी परेर वा प्राकृतिक विपत्तिले खेति भएन भने भोकमरिको समस्या ठूलो पर्दछ । भोकमरीको पिढा पेटलाई मात्र परे त हुन्थ्यो नि । तर के गर्ने यस्ले वंश र विरासत समेतलाई असर गर्दो रहेछ ।
ऋणधन तिर्न नसकेर होईन बाँच्ने जिजीविषामा अनिकालले गाँज्यो भने जीवनरक्षाको लागि छोराछोरी पनि बेच्थे रे । बाँङ्गाटिङ्गा, लाठे, युवा युवतिहरु मधेश झरेर मुग्लान पलायन हुन्थे रे ।हुनत अहिले पनि हामी नेपालीहरुको भाग्यमा सुखी हुन त कहाँ लेखेको छ र । पहाडमा खानेभनेको चिसो पानी मात्र त हो । दुखको पहाडै बोक्न पर्दछ । टाउकोबाट नाम्लो छुट्ने हैन । अहिले पनि उत्तरभारतको सहरहरुका सडकपेटिहरुमा कामको खोजिमा हातमा नाम्लो लिएर बसेका प्रसस्त नेपालहरु भेटिन्छन् ।
थिङदाई हाम्रा काकाबाउहरुसंगै हाँस्दै खेल्दै हुर्किए । घरको केटाकेटिहरुको उ खेल्ने साथी, छोरिबुहारीहरुको कामको सहयोगी, घरमुलीको हलि, गोठालो र बाउसे । उसैको उपस्थितमा छोरिहरुलाई विदाई गर्यो, छोराहरुको लागि बुहारीहरु भित्र्यायो । उनीहरुको केटाकेटिहरुलाई ढाडमा चढायो । तर उ आफूले विहे गर्ने विचारै गरेन । यौवन त उस्लाई पनि आयो होलानि । कसरी समन गर्यो होला त्यो भावात्मक संवेग ? गरिवीले सवै सहन सिकाउने रहेछ सायद।
चुनियाँबाट हामीहरु सवै हेटौंडा बसाई सर्यौं । थिङदाई पनि संगसंगै तराई झरे । हजुरबुवाको आफ्नैस्थिति ठीक थिएन । बड्दै गएको परिवारको लालनपालन, शिक्षादिक्षा, विहेवारी आदि कामबाट आफै मुक्ति खोजिरहेका थिए सायद। जंगलको छेउमा केहिकट्ठा नम्वरी र केहि ऐलानी गरेर झण्डै एकविगाह जमिन दिएर थिङदाईलाई घर छोडेर जान भन्नु भएको थियो । 'मातापिताले सेवा गर्नु भनेर छोडेर गएको हुँदा मरणोप्रान्त मात्र यो घर छोड्ने' भन्ने थिङदाईको ढिपि अगाडी कसैको केहि चलेन ।
हामीहरुले देख्दादेख्दै थिङदाई बुढो भयो ।सवैलाई थाहा थियो उ एकदिन ढल्नेछ । हिँड्दा हिँड्दै ढल्नेछ वा ओच्छ्यान परेर फोहरको आहालमा डुवेर मर्नेछ । सवैको अनुमान यस्तै थियो । हरुवा, चरुवा, गोठालो, बाँधा मजदुर किं वा दासको अन्तिम हविगत हुने यस्तै त हो । न जन्म न कर्मको नाता स्वार्थको बलमा बनाएको सम्वन्ध यस्तै त हो । उस्को हैसियत भनेको कामदारको जत्तिको मात्र न हो । उसले सम्पूर्णतामा समर्पण गरेको जिन्दगी र श्रमको वदलामा पाएको भनेको त्यहि एकपेट खाना र आँङ ढाक्ने एकसरो नाना हो ।
जिवनमा यो भन्दा ठूलो त्याग के होला? बन्धनको त्याग वा स्वेच्छाको, उदात्त भावले निर्विकार समर्पण । ईश्वरै छन् भने पनि खुसी हुनुपर्ने । तर उ थिङदाई हो । ईश्वरसंग कुनै गुनासो थिएन । न त थियो कुनै अभिलाषा या अपेक्षा ।श्रमको मूल्यसमेतको कहिल्यै हिसाव गरेन । वेहिसाव जीवनलाई समर्पण गर्यो वा आफू बाँच्न पाउनुलाई नै उपकारको बोझले थिचिएर मर्यो ।
थिङदाई विरामी परेर ढल्दा घरपरिवारले यथोचित हेरविचार गरेकै हुन् । वाल्यकालमा उन्को जिम्मा लिने हाम्रा हजुरबाहजुरआमाले यो संसार छोडेर गईसकेका थिए । घरका अरु सदस्यहरुले उनलाई अन्तिम विदाई पनि उन्कै ईच्छा वमोजिम आदरपूर्वक नै गरे।
यद्यपी, दासप्रथा उन्मुलन भएको धेरै भईसकेको थियो । श्री ३ चन्द्र शम्शेर जवराबाट १९८१/८२ तिर उन्मुलन गरेको यो प्रथा र यसबाट अमलेख भएर अमलेखगञ्जमा घरवार गर्नेहरुका सन्तान र उनीहरुका पुस्ताहरु सफलताको सिंढी चढेर कहाँकहाँ पुगिसके होलान् । कहिँ कतै भने यसका अवशेष अझै जिउंदै छन् । घर्तीले डोली बोकेको देखेको हाम्रो पुस्ता तराईमा हलीया प्रथाको साक्षीसमेत हुन पुगियो । यहिरुपको दासता हामीपछिको पुर्खाले शायद नदेख्ला । तर, अहिलेका तन्नेरी पुस्ताले वैदेशिक रोजगारीको नाममा हुने श्रम शोषणालाई दासताको अर्को परिवर्तित रुपमा देख्न विवस छ । मानवीय प्रवृत्ति नै यस्तै हो वा समृद्धिको या सम्पतिको चरित्र यस्तो हो?
राजाराम बर्तौला
पूर्व उपनियोग प्रमुख दक्षिण कोरिया