काठमाडौँ -- ‘भ्वाइस अफ नेपाल’ तेस्रो संस्करणका विजेता किरण गजमेरले ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि विश्वभरका नेपाली मूलका प्रतिभाहरूलाई आग्रह गरेका छन्।
गत अगस्ट ७मा भएको प्रतियोगिताको फाइनल चरणमा उनी भ्वाइस अफ नेपालको विजेता घोषित भएका थिए। प्रतियोगिता जितेर हाल नेपालमै रहेका उनले ‘एनआरएन द सिङ्गर’ आयोजकसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो यागत प्रतिभा देखाउने यो मञ्चको सदुपयोग गर्न आग्रह गरेका हुन्।
‘देश छोडेर विश्वभर छरिएर रहेका नेपाली मनलाई जोड्नका लागि यो एउटा गतिलो मञ्च हो,’ उनले भने, ‘म सारा नेपाली प्रतिभाहरूलाई यो प्रतियोगितामा भाग लिन आग्रह गर्दछु र चाँडो भन्दा चाँडो आफ्नो अडिसन पठाएर सहभागिता जनाउन आग्रह गर्दछु।’
भुटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका उनी भ्वाइस अफ नेपालमा सहभागी हुनका लागि फेरि नेपाल आएका थिए।
संयुक्त राष्ट्रसङ्घले सन् २००६ मा भुटानी शरणार्थीका लागि शुरु गरेको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत उनी र उनको परिवार अमेरिका पुगेको थियो।
भ्वाइस अफ नेपालको उपाधि समाएसँगै उनले भनेका थिए- ‘नेपाल र नेपालीले एकपटक फेरि मलाई आफ्नो काखमा राखेका छन्। यो नै मेरो लागि नेपाली परिचय हो। नेपाली नागरिकता हो।’
भुटानबाट विस्थापित भएर झापाको खुदनाबारीस्थित शरणार्थी शिविरमै जन्मिएका गजमेरले यो प्रतियोगिताबाट जितेको २५ लाख रूपैयाँ शिविरमा एम्बुलेन्स किन्नका लागि सहयोग गर्ने घोषणा पनि गरेका छन्।
यो शिविरमा अहिले पनि उनीजस्ता हजारौं शरणार्थीहरू छन्।
‘नेपाली आवाज विश्वमाझ चिनाउने एउटा अवसर’
‘प्रतिभाहरू जहाँ भए पनि लुकेर बस्दैनन्। आफूभित्र रहेको प्रतिभा लुकाउनु पनि हुँदैन’ उनले भनेका छन् – ‘एनआरएन द सिङ्गर’ पनि नेपाली आवाजलाई विश्वमाझ चिनाउने एउटा अवसर हो र यो अवसरलाई खेर जान नदिन म सबैलाई आग्रह गर्दछु।’
उनले कुनै पनि कलामार्फत नेपाल र नेपाली पहिचान झल्काउने हरेक मौकाहरूलाई यसरी नै सदुपयोग गर्दै लैजानुपर्ने पनि बताए।
‘गीत र संगीतको कुनै सीमा हुँदैन। न कुनै भूगोल,’ उनले भने ‘त्यसैले छरिएर रहेका सारा नेपाली आवाजलाई म यसै मञ्चबाट एउटै धागोमा गाँसिन आग्रह गर्दछु।’
एनआरएनए अन्तर्गत आइसीसी संस्कृति तथा सम्पदा उप-समितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले यो टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ शुरू गरेको हो।
गत जुन २७ देखि आयोजकले ‘प्रि अडिसन’ खुला गरेको थियो। कोरोना महामारीका कारण भर्चुअल अडिसन पठाउन आग्रह गरिएको आयोजकले जनाएको छ।
एशियाबाहेक विश्वभर छरिएका रहेका सबै गैरआवासीय नेपालीले यो प्रतियोगितामा भाग लिन पाउनेछन्।
प्रिअडिसनपछि नेपाली टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ। प्रतियोगिताका केही इपिसोडहरू नेपालमा पनि हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा भाग लिने सहभागीका लागि नियमहरू यसप्रकार छन् :
1. गीत नेपाली भाषामा हुनुपर्नेछ।
2. गीतका प्रकारहरू: लोक, आधुनिक, झ्याउरे, सोरठी, देउडा, मारुनी, काठे भाका, असारे, रोधी, फिल्मी गीत, देशभक्ति वा पप गीत गाउनुपर्नेछ ।
3. प्रतियोगीले www.nrnthesinger.com मा गएर आवेदन दर्ता फाराम अनिवार्य भर्नुपर्नेछ।
4. गैरआवासीय नेपालीहरू NRN विधानअनुसार विदेशी मूलका नेपालीहरू र नेपाली भाषीहरूले भाग लिन पाउनेछन्।
5. घर विदामा नेपाल बसेका गैरआवासीय प्रतिभाहरूको हकमा उनीहरूको सम्बन्धित देशको परिचयपत्र (ID card) प्रमाणित भए मात्रै भाग लिन पाउनेछन्।
6. १५ वर्षभन्दा माथि उमेर भएकाहरूले मात्रै प्रतियोगितामा भाग लिन पाउनेछन्।
7. गीतको भिडियो (portrait/vertical) नभइ तेर्सो (landscape/Horizontal) हुनुपर्नेछ।
8. भिडियो गुणस्तर (Quality) न्यूनतम HD अथवा 1080p मा मात्रै पठाउनुपर्नेछ।
9. पहिलो गायन परीक्षण (pre-Audition) बिना बाजा, बाजा वा दुबै प्रयोग गर्न सकिनेछ।
10. गायन परीक्षणको (pre-Audition) का लागि एक स्थायी र एक अन्तरा अनिवार्य गाउनुपर्नेछ।
11. भिडियोमा ब्याकग्राउन्ड साउन्ड हुनुहुँदैन।
12. भिडियो डे लाइटमा खिच्नुपर्नेछ
13. भिडियो फाइल .m4v, . mp4, .mov .mk4, .avi, .wmv फर्म्याटमा हुनु पर्ने छ।
‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपालीको आवाज’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।
पुरस्कारको व्यवस्था :
प्रथम पुरस्कार : १५ लाख रुपैयाँ
द्वीतीय पुरस्कार : ७ लाख रुपैयाँ
तृतीय पुरस्कार : ४ लाख रुपैयाँ
तस्बिर स्रोत- किरण गजमेरकै फेसबुक