रस भन्ने वित्तकै हामीहरुको बिचारमा गुलियो रसको स्वाद जिब्रोको टुप्पोमा आउँछ । धुनिबेसीको उखुको रस, खुदोको पाकमा अदुवा भकभक उमालेर खाएको जिब्रोको टक पनि ताजै बनेर आउँछ । उहिले खेतमा उखु पेल्ने मेसिनले (फलामको जब्बर दाँति भएका दुईटा रोलरको बीचमा उखु राखेर गोरुको मद्दतले धुमाएर ) रस निकालिन्थ्यो । अव त्यो दृश्य दुर्लभ भयो । आजभोलि त ग्राईन्डर मेसिनले पेलेर रस निकालिन्छ ।
रसै निकाल्नु हो जिन्दगीलाई पनि फनफन् घुम्ने ग्राईन्डर (पिँधेर धुलोपिठो पार्ने मेसिन) ले धुलिसात पारेर पिलन्धरे जिन्दगीलाई फुत्त निकाल्छ । रिना हो कि फेना हो डिटर्जेन्ट सावने मयल पखालेर धोएर वेदाग निकाले जस्तो । कतिपय दाग त यति जिद्दी हुन्छ जति धोए पनि जाँदैन । चोलै फेर्न पर्छ वेदाग देखिनको लागि ।तर, रस चाँहि दाग भन्दा फरक हो ।
निस्सार जति फ्याकेर सार जति वाहिर निस्कने झोल, तप्त ज्वालामा पोलिएर खारिने सुन, ठेकिमा घ्यार्रघुर्र मदानिले मथेर निस्कने नौनि, रसमाधुरी हो । फुलको पराग चुसेर मिहिनतले चाकामा लुकाएर राखेको मह जस्तो।
मधु भनेपछि मधुपर्कको स्वाद आउने । दुधमा सक्खर, मह मिसाएर, प्रकृतिले दिएका स्वादिष्ट मसला थपेर, मन्द तापमा सेकेर उमाल्दै बनाईएको बास्नामय पक्वान । जीवन सुस्वादिष्ट होस् उखुको रस जस्तै, रसमाधुरी, रसमलाई, मख्खन तुल्य पाकेको मधुपर्क बनोस्, तव न जिन्दगीको सार।
जीवनको विशिष्टता चाहन्छन् मानिस । एउटा परिचय, चिनोस्न सवैले उ को हो । जसरी मानिसले भन्छ नि 'म दिग्बीजय सिंह हुँ ' चराचर जगतको मालिक । त्यसैगरी धर्तिले भन्छ, म, 'म सगरमाथा हुँ ।' अनि त उस्को दर्पको अगाडी सवै लिलिपुट ।
धुनिबेसीको उखुले उधुम मचाउँदा, 'चित्लाङको मुला ढिकी भन्दा ठूला' भनेर गमक्क गमकँदै थियो चित्लाङ । पालुङ झन के पो कमि हुन्थ्यो र । आलुको रवाफ देखाएर उधुम गर्दैछ । उता अघोर अग्धोरै फुर्किएर भीर महको धाक लाउँदै थियो र अझै बोक्रे धाकमा रमाउन छोडेको छैन।
कुनै बेलाको भीमकाय भिमफेदी तेज हराएको र नुन खाएर झोक्राएको कुखुरो जस्तो भएर सुतेको बजार कुम्भकर्णको निंदजस्तो जाग्दैछ । सुतेको वजार आँखा मिचेर उठ्दैछ । पुरानो परिचय गुमनाम भएर बिस्मृतिमा गएजस्तो पुनर्प्राप्तिको प्रयासमा लाग्दैछ ।
हण्डर र ठक्कर त सवैले खानै पर्ने रहेछ मानिस होस् या ठाउँ । बाउन्न ठक्कर त्रिपन्न चक्कर लगाए खारिए पछि जवान छोरो मान्छे बन्छ रे भन्छन् । जीवनको तत्ववोध भएर रसयुक्त भएजस्तो । भनेपछि, परिचय स्थापित गर्न विशिष्ट हुनुपर्ने रहेछ ।
भिमफेदीले पनि पुन: स्थापित हुन प्रयास गर्दैछ । बजारबाट दुई किलोमिटर माथि जुरिखेत भन्ने ठाउँ छ, गाजरको जुसको लागि प्रख्यात । मकवानपुरको विशिष्टतामा थप एक परिचय ।
हेटौडाबाट कुलेखानी हुँदै काठमाण्डौ जाँदा र आउँदा यो बाटोमा सवैले हेर्ने, देख्ने र बिसाउन चाहने ठाउँ हो जुरिखेत । स्थानीय विशुद्ध अर्ग्यानिक उत्पादन यहाँको गाजरको जुस जस्ले खाएन त्यसले जीवनको एउटा महत्वपूर्ण स्वादबाट बञ्चित भयो । नखाएर पछुताउने मात्र होईन जीवनको बाटो बिराउने छ ।
काठमाण्डौबाट हेटौंडातर्फ आउदै गर्दा एकग्लास जुसलाई घुटुक्क पारेर संतोष र आनन्दको अनुभुति गर्दै ओरालो लागियो । यात्रा फेदि नपुगेसम्मको ओरालो हो, तर जीवनको यात्रा भने सानो बिसाउने पछिको उकालो । द्यौराली डाँडा चड्नु छ । त्यो अझै पर छ ।
राजाराम बर्तौला
पूर्व उपनियोग प्रमुख
नेपाली राजदूतावास दक्षिण कोरिया