काठमाडौँ, १६ माघ । नेपाल परिवार दलका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री एकनाथ ढकालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन शहिदहरूको सपना रहेको बताएका छन् । शहिद दिवसका अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष ढकालले देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहिदको योगदान सधै नेपालीहरुले स्मरण गरिरहने बताएका छन् । अध्यक्ष ढकालले ऐतिहासिक शहिद दिबसको दिनबाट राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउन तथा शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिल्ने बताएका छन् । राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरूप्रति ढकालले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
प्रकाशित मिति:
सोमबार, माघ १६, २०७९, ११:३१:००