काठमाडौँ — रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् ।
'उहाँले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त गर्नु भएको छ' काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने ।
लामिछानेले २०५० सालमै वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । प्रशासनले पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।
यसअघि नेपालमा नागरिकता लिए पनि अमेरिका गएपछि उतैको नागरिकता लिएर बसेका लामिछाने गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए । त्यसपछि उनी यतै बसे । ०७५ सालमा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिएका उनले ०७५ असार १४ गते अमेरिकी नागरिकता त्यागेको जानकारी गराएका थिए । तर‚ नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया पूरा गरेका थिएनन् ।
कानुनबमोजिम त्यसबेला नै अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्नेमा लामिछानेले त्यो प्रक्रिया पूरा नगरी पुरानो नागरिकता प्रयोग गर्दै आएका थिए ।
प्रकाशित मिति:
आईतबार, माघ १५, २०७९, १४:२३:००