राजाराम बर्तौला
काठमाण्डौको सडकहरुमा सम्भ्रान्तहरु राजसी ठाँटबाँटमा टोयोटा, हुण्डायी, बेन्च, विएमडब्लु निर्मित महंङ्गा र चिप्ला एसयुभि कारहरुमा सलल हुँईकि रहेका देखिन्छन् । राजदरवारको छेउछाउ महंगा डिपार्टमेन्टल स्टोरहरुमा सपिङ गरिरहेको देखिन्छन् । महिलाहरु क्रस्चियन डायरको फर्फ्युममा होस् या हर्मिसको ब्याग बोकेर अत्तरको बास छोड्दै हिँडेको देखिन्छ ।
यी सवै देख्दा काठमाण्डु प्यारिसको कुनै बुलभार्ड भन्दा कम हुनु नपर्ने हो । न्यूयोर्कको म्यानहाटन वा साँघाई सहरको तडकभडकको नक्कल गर्दै नियोन लाईटहरुसंगै रात रंगीन बनाउन मस्त सहर हो काठमाण्डु । तर साँघाई, म्यानहाटन, टोकियो, बेजिङ वा सिउल राति सुत्दैन । काठमाण्डु कुमभकर्ण जस्तै निदाउँछ ।नक्कल त गर्छ मेनहाटनको बाँच्छ सहर आदिम कलकत्ता ।
सडकको पेटिमा गाडि पर्किंग हुन्छ, बटुवा मूलसडकबाट हिँड्छ । ढलको ढक्कल खुलै हुन्छ, पैदल यात्री या सवारी त्यसैमा परेर ज्यान गुमाउंछ । बर्षामा परेको पानीको सडकमा बग्ने भेलले निकास नपाएर खुला ढक्कमा परेर स्कूले बच्चा ज्यान फाल्छ । सडक सवारीको लागि भन्दा पशु चौपायाको बिश्रामस्थल हुन्छ । बाटो फोहर फ्याँक्नु नैसर्गिक अधिकारहो काठमण्डोवासीको । ऊ आफै नागरिक शिक्षाको डंका पिट्छ । बाटो छेकेर ब्यवसाय गर्नु र बाटोलाई पैत्रिक थलो सम्झनु यहाँको नित्य कर्म हो ।
काठमाण्डु जे देखिन्छ त्यो छैन । जे होईन त्यहि हो । काठमाण्डु जत्ति नक्कल गरेपनि न त प्यारिस हो, न साँघाई म्यानहाटन । यो त ठुसठुस हन्हाउने सहर हो । भन्न त सिंगापुर बनाउने भनेकै हुन् । तर यो झिङ्गापुर भएको छ । सडकमा फोहरको ढुँगुर पहाड बनेको छ । भानुभक्तले देखेको अलकापुरी कान्तिपुरी नगरी, फोहरी विसाक्त विमार बनेको छ ।
बिसाल बजार गयो भने स्वर्णमय लाग्छ काठमाण्डु । त्यहि बिशालतको छेउछाउ जव फोहरको थुप्रोमा चिप्लएर लडिन्छ, लाग्छ काठमाण्डु बिस्मयकारी वैभकले थिचिएको बिरक्त सहर हो ।
अनि यो सहरको वासिन्दा म अपलक यो फोहरको डुङ्गुर खेलाउँदै गरेका पशुहरुको कृडाको कुरुप दृष्य हेर्दै विस्मय मिश्रित चेतनामा ढक्कन लगाउन बाध्य छु ।यो काठमाण्डु खाल्टो फोहरी कुवा भएको छ ।नगरपिताले केमिकल छर्केर बास्ना आउने बनाउँछु भन्नु भएछ । बर्सौं ननुहाएको शरीरमा अत्तर छर्के जस्तो । जत्ति नै अत्तर छर्के पनि स्थायी निदान नहुने हो भने काठमाण्डु डुङडुङ गन्हाउँछ ।
प्रकाशित मिति:
शनिबार, जेठ २१, २०७९, १२:४६:००