आफू बसेको स्थानवाट टाढाको बस्तुलाई हेर्दा आँखा अगाडी देखिने आकृति, विम्व वा अवधारणा नै दुरान्तर हो । कुनै बस्तुको वा विषयको विषयमा अवधारणा बन्न आफू कुन स्थानमा, के अवस्थामा र कसरी बसेको छ भन्ने धरातलीय यथार्थले निर्णायक स्थान राख्दछ । दुरान्तरलाई असर गर्ने अर्को तत्व भनेको दृष्टिमा राखिएका विषयवस्तुको आयामहरु हुन् । यस्ता आयामहरु दुरी, उचाई, मोटाई, लम्वाई, चौडाई भन्दा पनि पर गएर प्रकाश, समय र गति समेतलाई गणाना गरिनु आवश्यक हुन्छ ।
नजिकैवाट हेरिएको सुन्दरी पर, अझपर, झन् पर, टाढा र निकै टाढा राखेर हरियो भने त्यसको आँखामा पर्ने विम्व फरक हुनेछ । फूललाई विहानको सूर्यरश्मिले सिंचन गर्दा र गोधुलीको आभामा हेर्दा फरक अनुभूति हुन्छ । कुन आलोकमा रमाउने, कुन धरातलमा आफूलाई विसाउने आफ्नै छनौट हो ।
अहिले सिमल फुल्ने आयाम छ, मयुर नाच्ने समय छ, प्रकृति पनि अनुरागमा ब्यस्त छ । यहि समयमा सिमलको हाँगामा बसेर हेर्ने चराले भुँईको चारोलाई फरक देख्दैन । तर साराङकोटको भीरवाट बतासमा हुँईकिने मानिसले भुँईको मानिसलाई किरा देख्छ । पशुपञ्छि र मानिसमा यहि फरक छ । उ बस्तलाई हेर्ने आयाम बदलिए पनि आफ्नो चरित्र बदल्दैन तर मानिस, उ त ज्ञानी न हो दिव्यलोकको पनि भ्रमण गर्न आतुर रहने ।
दिब्यलोकको कुरा आई नै हाल्यो । मानिसको दिमागमा ज्ञानगुनको अधकल्चो केहि सागर भरिनु पर्दछ, बेलुनमा हाईड्रोजन ग्यास भरेर छोडेजसरी मानिस उड्दछ हावामा । उसको आयाम फेरिन्छ, मति र गति पनि फेरिन्छ । अनि गति त उहि हो उँधो या अधो।
सिधा लमतन्न अगाडी बढेको बाटो कि अगाडी जान्छ नभए पछाडी, तर माथि र मुनि जाँदैन । अगाडीको दुर दृष्टि लगायो भने साँगुरिदै गएर विलुप्त हुन्छ कतै । त्यहि चिजलाई अगाडीबाट हेर्यो भने विहंगम् । तर नजिकैबाट हेरेर आलोकित हुन्छु भनेर सिनेमाको पर्दा अगाडी बसेर हेर्दा सौन्दर्यताको अतिभाषमा परिन्छ ।
हुन त हामीले देख्ने भनेको कुनै बस्तुमा परेको प्रकाशको परावर्तन आँखामा ठोक्किएर हो । आफैले प्रकाश उत्सर्जन गर्ने बस्तुमा आँखा लगायो भने बस्तु नदेखिन पनि सक्दछ ।
अतः दुरान्तर दुई किसिमको हुने रहेछ । एउटा आयाम सहितको र अर्को विराट काल्पनिकता । बस्तुलाई आँखाले हेर्नु र मनले हेर्नुमा जे भेद देखिन्छ त्यहि फरक छ दुरान्तरका यि दुई प्रकारमा । आँखाले देखेको भौतिक पदार्थमा देखिने सुन्दरता भन्दा मनले छामेर अनुभुत गरिने सुन्दरता अपरिमित छ, अजय आलोकित ।
तसर्थ मनको विहंगम चक्षु खोलेर दृष्टिगोचर गर्दै ज्ञानसागरको आलोकमा स्नान गर्दै दुरान्तरसम्मको यात्रामा रमाउँ ।
राजाराम बर्तौला
पूर्व उपनियोग प्रमुख
नेपाली राजदूतावास दक्षिण कोरिया