वुद्धनगरको त्यो एउटा सानो कार्यालय हामी केहि वृद्धहरु भेटघाट गरेर शासन, प्रशासन, विकास, लोकतन्त्र, गणतन्त्र, नीति, कुनीति लगायत देश, विदेश, राष्ट्र, राष्ट्रियताको समसामयिक विषयहरुमा विशारद चर्चा परिचर्चा गर्दै आआफ्ना वुद्धिविनोद सहित समय व्यतित गर्ने ठाउँ भएको छ ।
आत्मतुष्टिको लागि यदाकदा कताकतैवाट आउने निमन्त्रणा र हाम्रा लेखोटका उद्धरणहरु देख्दा लाग्छ हाम्रा विचारका पनि सुनुवाई हुनेरहेछन् । फगत आत्मतुष्टि ऊ आफ्नै तालमा हिँडिरहेछ एकलव्यको आत्मालाई काँधमा हालेर । उस्लाई दिग्विजय गर्नुछ अभिमानको दुर्योधन एकाधिकार स्थापित गर्नु ध्येय छ । घरिघरि उस्का उटपट्याँग तानावाना, सुरुचित व्यङ्गवाट, लालित्ययुक्त शव्दजालको मोहमा लाग्दछ उ लोकलज्जाको लागि भन्दा पनि धर्मराज्य स्थापनाको लागि लोकतन्त्रको यज्ञ अनुष्ठान गर्दैछ । हामीहरु हाम्रो कुरा पनि ग्रहण गरियो भनेर मख्ख पर्दै एककप कालो चियामा दिन व्यतित गर्दै छौं ।
सरकारमा दानी पुण्यआत्मा भएका श्रेष्ठ धर्मभीरु छन् छैनन् थाहा भएन । तर कोभिड संक्रमणको महाव्याधिले अक्रान्त पिडित गरिव परिवारलाई सरकारले दश हजार दिन्छरे भनेको सुन्दा कतै दानी पुण्यात्मा पनि रहेछन कि भन्ने झिनो आशाको किरण देखिएको छ ।
सरकार, जस्को कुराकाटेर हाम्रो दिन वितिरहेको छ उ वलवान छ छैन भनेर लेखाजोखा गर्दा गर्दै प्रतिपक्षीले काँध चढेर पाखुरा टोक्न भ्याएपछि भने अव मुलुक बलवाहुहरुको कृडास्थल भएकोमा शङ्का रहेन । तर कोठे वाद प्रतिवादमा रमाउने हामी वृद्धहरु यो तमासाको साक्षि रहेको वकपत्र लेख्नु सिवाय अरु केहि गर्न सक्ने अवस्था रहेन ।
सरकार जस्तै छ हाम्रो घरपेटि पनि । वगैंचामा नास्पाति, लिची, आँप र अम्वा लटरम्मै फल्छ कहिल्यै बाँड्ने हैन । अस्ती आँप टुलुटुलु हेरेर सकियो। अहिले अम्वा लटरम्मै फलेको छ । पाकेको अम्वाको मिठो वास्ना झ्यालको कापकापवाट छिरेर हाम्रो नाकमा ठोक्किएको निकै दिन भईसकेको छ । बाँडेर खाने कुरा त नचिताए पनि भयो उल्टै वास्ना लिएर अम्वाको स्वाद लिएको भन्दै क्षतिपूर्ति माग्न वेर छैन ।
ए मेरीवास्सै । अचम्मै भयो त । घरपेटिकोमा काम गर्ने मानिसले आठदश गेडा पाकेका अम्वा ल्याएर टेवलमा राखिदियो । लौ साथी हो । अम्वाको सहभोजन गरौं र घरवेटिको परिवर्तित मनको मुक्तकण्ठले प्रशंसा गरौं, जसरी मानपदवीले अलंकार हुनेहरु विविध विरुदावली प्रयोग गरेर शत्ताको महिमागान या स्वस्तिगान गर्दछन् ।
सहज स्थितिमा असहज परिस्थिति आईलाग्यो । दाँत छैन । गेडा भएको अम्वा कसरी टोक्ने? समश्या नै छ जताततै । तर खानु त छ नै । सित्तैमा पाएपछि नेपालीले अलकत्रा टोक्छ भन्छन् । त्यसैले लप्याकलुपुक गरेर खाईयो ।
जसै अम्वा खाएर सकियो एउटा दिव्य ज्ञान खुलेको जस्तो भयो ।त्यो के भने हामीहरुको संसदमा दाँत झरेका वृद्धहरुलाई मात्र पठाउने । दाँतै नभएपछि कसरी पाखुरा टोक्दारान्, हेरौं त ।
थाहा छ संसारका सवै वृद्धहरु यस अभियानमा मलाई साथ दिनेछन् । त्यतिकै सत्य के पनि हो भने युवाहरु प्रतिपक्षमा हुनेछन् । अँह, प्रतिपक्षमा युवा त्यो त झन भएन । सडकका रेलिङ र टेलिफोन वुथ सवै फोडिन सक्दछन् ।
जे होस, परिवर्तनको लागि संसारका वृद्धहरु एक हौं ।
लेखक
राजाराम बर्तौला पूर्व उपनियोग प्रमुख दक्षिण कोरिया