पुष्कर सापकोटा, काठमाडौं
मध्यपूर्व संयोजक एवं ९ औं राष्ट्रीय खेलकूद २०७९ संयोजक मनोज कुमार श्रेष्ठको सभापतीत्वमा एसियन गेम्स २०२३ र ९ औं राष्ट्रीय खेलकूद २०७९ मा बिजेता खेलाडी, प्रशिक्षक र अफीसियलहरु लाई सम्मान वितरण कार्यक्रम सपन्न भयो । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको मुख्यालयमा आयोजित कार्यक्रममा आइसीसी सचिव प्रविण गुरुङ्ग प्रमुख अतिथी र एनआरएनए, अइसीसी का पूर्व अध्यक्ष कुमार पन्त बिशिष्ट अतिथी थिए ।
कार्यक्रममा राखेप पूर्व सदस्य सचिव केशब कुमार बिस्टले आफ्नो मंतव्य राख्दै यदि एनआरएनएले खेलाडीहरुका निम्ति अभ्यास एवं प्रशिक्षण स्थल निर्माण गर्न चाहे आफूले जग्गा उपलब्ध गराउन पहल गर्ने बताए । साथै एनआरएनए लाई खेलकुदका लागी बिशेष योगदान पुर्याए बापत केशब कुमार बिस्टलाई कार्यक्रममा सम्मानित गरिएको थियो ।
अर्का वक्ता, कार्यक्रमका प्रमुख अतिथी एनआरएनए, आइसीसी सचिव एवं आउँदो कार्यकाल २०२३–२०२५ का निम्ति उप महासचिव पदका उम्मेदवार प्रविण गुरुङ्गले आफूपनि पहिले खेलाडी नै रहेको हुनाले खेलकुदका निमित्त हर हमेशा आफ्नो सहयोग रहने कुरामा प्रतिबद्धता जनाए ।
कार्यक्रममा राखेप कार्यकारी सदस्य एवं एनआरएनए स्पोर्टस एकेडेमी सल्लाहकार एकेद्र बहादुर कुँवरले पनि आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रममा उनी पनि सम्मानित भए । साथै खेलकुदका लागी बिशेष योगदान पुर्याएका एनआरएनए आइसीसी सचिव प्रविण गुरुङ्गलाई कार्यक्रममा सम्मानित गरिएको थियो ।
चिनको ह्याङ्गजाउमा गत २३ सेप्टेम्वर देखि ८ अक्टोवर २०२३ मा सम्पन्न भएको एशियन गेम्स प्रतियोगितामा कराँतेतर्फ रजत पदक बिजेता एरिका गुरुङ्गलाई कार्यक्रममा पदक, प्रमाणपत्र र नगद पुरस्कारले सम्मानित गरिएको थियो भने त्यसैगरि कास्य पदक बिजेता कवड्डीका खेलाडीहरुलाई पनि पदक, प्रमाणपत्र र नगद पुरस्कारले सम्मानित गरिएको थियो । यस ९ औं राष्ट्रीय खेलकूद २०७९ प्रतियोगिताका प्रशिक्षकहरु ज्ञानेन्द्र तिमल्सिना, प्रविणकाजी श्रेष्ठ, रवि शाही, राज श्रेष्ठ, राजन खत्री, राजेश श्रेष्ठ, राजु सिंह, राकेश बज्राचार्य, स्वयम्भु राज डंगोल र सजेश मानन्धर लगायत अन्य अफिसियलहरुलाई पदक र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सभापतीको आसनबाट बोल्दै एनआरएनए मध्यपूर्व संयोजक एवं ९ औं राष्ट्रीय खेलकूद २०७९ संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले ९ औं राष्ट्रीय खेलकूद २०७९ र एसियन गेम्स २०२३ मा बिजेता खेलाडीहरुलाई बधाई एवं शुभकामना दिए । एनआरएनए स्पोर्टस एकेडेमीका खेलाडीहरुले ९ औं राष्ट्रीय खेलकूद २०७९ प्रतियोगितामा २४ वटा पदक ल्याउन सफल भएकोमा यस उपलब्धिका निम्ति रेखेप कार्यकारी सदस्य एवं एनआरएनए स्पोर्टस एकेडेमी सल्लाहकार एकेद्र बहादुर कँुवरलाई पनि मनोज कुमार श्रेष्ठले बिशेष धन्यवाद दिए । एनआरएनए स्पोर्टस एकेडेमीलाई यो अवस्थासम्म ल्याउन बिशेष योगदान दिएका सवै अफिसियल, गुरुहरु र सहयोगी हातहरुलाई कार्यक्रमका सभापती मनोज कुमार श्रेष्ठले बिशेष धन्यवाद दिए ।
कार्यक्रम सञ्चालन एनआरएनए स्पोर्टस एकेडेमीका सदस्य सचिव धर्मराज गिरीले गरेका थिए ।

