काठमाडौँ । इजरायलमा भएको हमास आतंककारी हमलामा त्यहाँ कार्यरत ९ जना नेपाली घाइते भएका छन् । जसमा ७ जना नेपालीलाई प्यालेस्टाइनी आतंककारीले चलाएको गोली लागेको छ । मध्ये दुई जना नेपाली घटनास्थलबाट दूतावासको सम्पर्कमा आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरुको सम्पर्कमा आएको बताए । यद्यपि कसैको पनि हालसम्म उद्दार हुन नसकेको भन्दै उनले आफूहरुले साथीहरुलाई बचाउन र धैर्यधारण गर्न उनीहरुलाई ढाडस दिइरहेको बताए ।
उनीहरु बोल्न सक्ने अवस्थामा रहेपनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेका छन् । ओलीका अनुसार ७ जनालाई बंकरमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ । डाँगी र कट्टेलले ७ जनालाई बंकरभित्र छिर्नुअघि नै आतंककारीहरुले गोली हानेको रिपोर्टिङ गरेका छन् । ७ जनालाई गोली लागेको छ भने अहिलेसम्म उपचारविहीन अवस्थामा बंकरमै छन् । सार्वजनिक भएका भिडियो फुटेजमा उनीहरुको शरीका विभिन्न भागमा गोली लागेको देखिन्छ भने रगत बगिरहेको छ ।
घटनामा परेका नेपालीहरु इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ । फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरु पा्रक्टिकल गर्नेहरु रहेको बताइएको छ । सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बंकरमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ । घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेण्डको टाइम हुन्छ । तर बंकरमा भाग्दै जाँदा फिजिकलीरुपमै आएका आतंकारीले गोली हान्दा ७ घाइते भएका हुन् । तर, दुई जनालाई गोली लागेको छैन । उनीहरुलाई चोटपटक भने रहेको बताइएको छ ।
अहिले पनि घटना भएको क्षेत्र आतंककारीकै नियन्त्रणमा रहेको बताइएको छ भने इजरायली सेनाले घटनास्थललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । इजरायलस्थित नेपाली दूतावासले एनआरएनएसहितको समन्वयमा आवश्यक सम्पर्क स्थापितको प्रयास गरिरहेको छ। यद्यपि अहिलेसम्म घाइतेहरुले घटनाको ७ घण्टा बित्दा पनि उपचार भने पाउन नसकेको ओलीको भनाइ छ । यसैबीच मन्त्रालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा २ जनाको अवस्था गम्भीर रहेको उल्लेख छ । विज्ञप्तिमा इजरायलमा भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । सरकारले आतंककारी हमलाको निन्दा गर्दै दुःखको यो घडीमा इजरायलको साथमा रहेको पनि जनाएको छ ।
इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ । नेपालीको सुरक्षा, सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको छ । स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दर्जनौं इजरायलीहरूलाई प्यालेस्टिनी विद्रोहीहरूले इजरायली भूमिमा आक्रमण गरी कब्जामा लिएको अनुमान गरिएको छ । घटनामा कम्तिमा ४० जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौं घाइते भएको इजरायली अधिकारीहरुले बताएका छन् । घटनापछि इजरायलले पनि जवाफी कारबाही गरेको छ । जवाफी कारबाहीमा गाजापट्टीमा इजरायलीबाट करिब २०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच नेपाली राजदूतावास, तेल अविवले एक अपिल जारी गर्दै गाजासककगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेकाले सचेत रहन आग्रह गरेको छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्न र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशस्ः पालना गर्न दुतावासले सवै नेपाली समुदायमा अनुरोध रहेको छ । साथै, अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुको सहयोग तथा उद्धारका लागि दूतावासले ईजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको दूतावासले स्पष्ट गरेको छ । अप्ठ्यारो परिस्थिति रहनुका साथै सबै त्रसित रहेको अवस्थामा नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा गतिविधि नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
नेपाली सैनिक सुरक्षित
इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए । शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् । यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि ९ जना नेपाली घाइते भएका छन् । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा ९ नेपाली पनि घाइते भएको बताइएको छ ।