काठमाडौं,गैरआवासीय नेपाली संघको मे महिनाको ५, ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने क्षेत्रीय बैठकमा नेपालका प्रमुख दलका नेताहरु आउने भएका छन ।
सम्मेलन तयारी समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काका अनुसार नेपाली कांग्रेस नेता रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुभाष नेंम्वाङ, नेकपा माओवादी नेता खिमलाल देवकोटा, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सो सम्मेलनमा भाग लिन आउने भएका हुन ।
सो सम्मेलनमा एनआरएनए नागरिकता गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने समाचार संयोजक चिरन शर्माले बताए।
युरोप सम्मेलनको तयारीका लागि क्षेत्रीय संयोजकद्धय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनमा यूरोपमा रहेका करिब दुई दर्जन देशका प्रतिनिधिहरु र विश्वका विभिन्न देशको सहभागीता रहने अपेक्षा गरिएको युरोप संयोजक चिन्तामणी सापकोटाले बताए ।
सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु र संस्थापकहरुको उपस्थिति रहने युरोप संयोजक सन्तोष भट्टराईले बताए । सो सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ । व्यवस्थापनको जिम्मा लिएको गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको जनाउँदै कार्यक्रम भब्य र सभ्य हुने बताए ।