नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भइरहेको छ। नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले दुवै आसपास झकिझकाउ छ। चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारी, मध्यपुर्व संयोजक मनोज गोर्खाली तथा प्रतिनिधिहरु उपस्थित रहेको छ ।
बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताए । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ । नेपाली फिल्मका वास्तविक दर्शक मध्यपूर्वमै हुनुहुन्छ,’ अध्यक्ष केसीले भने ।
नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन अध्यक्ष केसीले यूएईस्थित फिल्ममेकरलाई आग्रह गरे । साथै, यूएईले हलिउड र बलिउडलगायत फिल्मलाई सुटिङमा इन्सेन्टिभ (प्रोत्साहन) दिएजस्तै नेपाली फिल्मलाई पनि त्यो सुविधा उपलब्ध गराउन उनले आग्रह गरे ।
गैरआवासीय नेपाली संघका यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले यूएईका दर्शकमाझ नेपाली फिल्मको पहुँच पुर्याउन एनआरएनएले सहयोग गर्ने बताए । ‘यहाँ पनि नेपाली फिल्म नेपाली दर्शकमाझ मात्र नभएर विदेशी दर्शकमाझ पनि लैजानुपर्ने जरुरी छ,’ उनले भने ।
सञ्चारकर्मी तथा कागबेनी फिल्मका निर्देशक भूषण दाहालले नेपाली फिल्मलाई विश्वमाझ लैजान ढिला भइसकेको भन्दै अन्तर्राष्ट्रिय दर्शकलाई लोभ्याउने क्राफ्टका फिल्म बनाउन जरुरी रहेको बताए । ‘अहिले पनि रामबाबु गुरुङका फिल्महरु हेरेर मैले धेरै कुरा सिकिरहेको छु,’
फिल्म स्क्रिनिङपूर्वको संक्षिप्त रेडकार्पेटमा अनमोल र उपासना आकर्षणको केन्द्र बने । महोत्सवमा भाग लिन नेपालबाट ४० फिल्मकर्मी, बोर्ड र सञ्चार मन्त्रालयका कर्मचारी र सञ्चारकर्मी दुबईमा छन् ।
गैरआवसिय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष धर्मराज अधिकारी पनि महोत्सवमा भाग लिन दुबई पुगेका छन्। गैरआवासीय नेपालीहरु संसारको जुनसुकै कुनामा बसेपनि आफ्नो देशको कला-संस्कृति भेषभुषा भाषाको संरक्षण गर्दैआएको र एनआरएनलाई नेपालसंग जोड्न नेपाली चलचित्रको भूमिका महत्वपूर्ण रहेको बताए त्यस्तै नेपाली चल्चित्र विश्वब्यापी रिलिज भएको खण्डमा नेपाली चलचित्रको माध्यमबाट दोश्रो पुस्तालाई नेपाल संग जोड्न अझै सहज हुने प्रतिक्रिया दिएका थिए। आफू बाल्यकालमा शिव श्रेष्ठ ,भुवन केसीको फ्यान रहेको र यस्ता दिग्गज राष्ट्रका गहनाहरुलाई एनआरएनएले सम्मान गर्नुपर्ने बताए।
त्यस्तै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मध्यपूर्व संयोजक मनोज गोर्खालीले दुबईमा चलचित्र महोत्सव हुनु भनेकोनै नेपाली चलचित्र अब अन्तर्राष्ट्यिस्तरमा पुगेको बताए। नेपाली चलचित्र विकासका लागि एनआरएनए सदैब अग्रणी रुपमा लाग्ने उनले थपे
फेस्टिभल सुरु हुनुअघि बोर्डले दुबईमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सूर्य कर्पोरेसनको व्यवस्थापनमा आयोजना भएको फेस्टिभल चार दिनसम्म चल्नेछ । कर्पोरेसनका कार्यकारी प्रमुख वासुदेव लामिछानेले फेस्टिभलमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए ।