राजु रसाली / दक्षिण कोरिया ।
सोलुखुम्बु जिल्ला तामाखानीका रामप्रसाद रेग्मी मगर मंसिर २८, वि.स.
२०७९मा कम्पनीसँगै बस्ने ठाउँमा सुतेकै अवस्थामा मृत भेटिएका छन । त्यस्तै
,काठमाडौ घर भई करिब ६ महिना अगाडि कोरिया आएका युनिक कालिकोटेले
वि.स.२०७९ साल कात्तिक २७ गते आत्महत्या गरे । नुवाकोट जिल्ला विदुर
नगरपालिका १३ का टेक बहादुर तामाङको कम्पनीमा सुतेकै अवस्थामा
वि.स.२०७९ साल कात्तिक १३ गते मृत्यु भयो । यी कोरियामा घटेका ताजा
घटनाहरु हुन् । दक्षिण कोरिया पछिल्लो समय नेपालीहरूको लागि मुख्य
गन्तव्यको रुपमा विकास हुँदै गएको छ । कोरियामा रोजगार अनुमति प्रणाली
(इपिएस) सँगै अध्ययन गर्न आउने,व्यावसाय गर्नेहरू र डिपेन्डेन्ट भिषामा आउने
नेपालीहरूको संख्या बढ्दै गएको हो । राम्रो कमाई र सुरक्षित बसाईले गर्दा
विदेशीहरु उल्लेखनीय रुपमा कोरिया आउने र यतै बस्ने गरेका पाइन्छन् ।
कोरियामा कमाई र बसाईसँगै नेपालीहरुमा आत्महत्या, हत्या र दुर्घटनाका
घटनाहरु पनि बढ्दै गइरहेको देखिन्छ । यस्ता खालका घटनाहरु बढ्दै जानु
नेपालीहरूका लागि दुःखद कुरा हो । नेपालमा राजनीतिक अस्थिरता,बेरोजगारी र
असमानताले धेरै युवाहरु बिदेशिन बाध्य छन् । त्यस्तै कोरियामा करिव ९० हजार
नेपाली रहेको अनुमान छ । कोरियामा आउनु पूर्व कोरियन भाषाको जानकारी र
कोरियाको हावा पानीसँग घुलमिल हुन सक्नु हुनुपर्दछ । कोरियामा सबै तिर
कोरियन भाषा मात्र प्रयोग हुन्छ । यसको मतलब कोरियाले आफ्नो भाषालाई
निकै महत्व दिइएको पाइन्छ । कोरियामा भाषासँगै सीपको पनि निकै सम्मान हुने
गर्दछ । मुख्यतया भाषामा ज्ञान नहुनु र हातमा सीप नहुँदा कोरियामा धेरै
जटिलताहरू देखा पर्दछन् । नेपालबाट भाषा पास गरी कोरियाको उत्पादन क्षेत्र र
कृषि क्षेत्रमा आउने नेपालीहरूको संख्या भने निकै धेरै छ । कोरियन सरकारले
रोजगार अनुमति प्रणाली (इपिएस) सन् २००४ बाट सुरु गरे पनि नेपालबाट भने
सन् २००८ बाट इपिएस प्रणाली लागु गरी श्रमिक ल्याउन सुरु गरेको थियो ।
कोरियामा हाल नेपाल लगायत १६ मुलुकका नागरिकहरू रोजगारीका लागि
इपिएस प्रणाली मार्फत आउने गर्दछन् । हाल सम्म भाषा परीक्षा पास गरेर करिब
७७ हजार भन्दा बढी नेपाली कामदारहरू कोरिया आएका छन । भाषा परीक्षा
पास गरेर कोरिया आएका अधिकांश नेपालीहरुमा शिप छैन । उनीहरु जस्तो
कम्पनी भेटिन्छ ,त्यस्तैमा काम गर्न बाध्य छन् । कोरियामा बेसिक ८ घण्टा काम
भए पनि अधिकांश कम्पनीहरुमा ओभरटाइम पनि गर्नु पर्दछ । ओभर टाइमसंगै
लामो समय काम गर्नेहरु धेरै छन् । पर्याप्त मात्रामा भाषा नजान्नु ,हातमा सीप नहुनु
र लामो समय काम गरिरहनु पर्ने भएका कारण पनि धेरै दुर्घटनाहरु हुने गरेका छन्
। वि.स. २०७७ साल फागुनमा बागलुङ गलकोट नगरपालिका ११ घर भाएका
कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय अशोक
श्रीषमगरको काम गर्ने सिलसलामा नै ज्यान गयो । त्यस्तै वि.स.२०७६ साल
असारमा औध्योगिक दुर्घटनामा परि कोरियाको ख्वाङ्जु शहरमा कार्यरत
ओखलढुङ्गाका विमान राइको पनि ज्यान गयो । तथ्यांक कै कुरा गर्दा
रोजगारीका लागि कोरिया आएका मध्ये ३० प्रतिशत सुतेकै अवस्थामा, २८
प्रतिशतले आत्महत्या, १६ प्रतिशत औध्योगिक दुर्घटना,बिरामीका कारण १५
प्रतिशत र सडक दुर्घटनाका कारण ७ प्रतिशतले ज्यान गुमाउने गरेको पाइएको छ ।
कोरियामा धेरै प्रकारका कम्पनि र कामहरू छन । ती कम्पनिहरूमा आधुनिक र
पुराना मेसिनहरुसँग काम गर्नुपर्ने भएका कारणले पनि धेरै दुर्घटनाहरु हुने गरेका
छन् । कामदारहरू हातमा सीप नहुदा जस्तो पनि काम गर्न बाध्य छन् । धेरै पैसा
कमाइ हुने भन्दै अधिकांशले आफूले नसक्ने कामहरु पनि गरिरहेका छन् । यदि
कोरियामा दुर्घटना परियो भने उपचार विधि निकै लामो हुने र लामो समय
हस्पिटल बस्नु पर्ने हुनसक्छ । यदि इन्सुरेन्स हुनेहरूको लागि त इन्सुरेन्सले काम
गर्छ, इन्सुरेन्स नहुने र भिसा नहुनेहरुका लागि भने उपचार निकै महंगो पर्दछ ।
मोरङ घर भएका प्रकाश कम्पनीमा काम गर्दागर्दै हात भाचिएर उपचार
गराइरहेका छन् । उनको दुई पटक अप्रेशन गर्दा पनि हात पूर्णरुपमा निको भएको
छैन । लामो समयदेखि काम गर्न नसक्दा कम्पनीले उनलाई पैसा पनि दिएको छैन ।
हातको अप्रेसन गर्दा ४ लाख नेपाली भन्दा माथि खर्च आएको र करिब ३ लाख
इन्सुरेन्सले खर्च बेहोरे पनि अरु खर्च आफै गरेको बताउँछन् । उनी थप्छन् “
प्रदेशमा काम गर्दा निकै होसियारी पूर्वक काम गर्नुपर्ने रहेछ ”। त्यस्तै पाल्पा घर
भएका भीमसेनको भिसा छैन । काम गर्दा उनी दुर्घटनामा परे र उनको खुट्टा
भाँचिएको छ । भिषा नभएकै कारण उनलाई कम्पनी र इन्सुरेन्स दुवैले पैसा
दिएको छैन । खुट्टा उपचारका लागि चार महिनामा उनको ६ लाख नेपाली खर्च
भइसकेको छ । भिमसेन थप्छन् “ बिना भिसा र विना इन्सुरेन्स विदेशमा बिरामी
हुँदा निकै गाह्रो हुँदो रहेछ । त्यसकारण भिसा नभएर बस्नेहरुले निकै होसियारीका
साथ काम गर्नुपर्ने रहेछ ” । कोरियामा भिसा नभएका र भिषा भएकाहरु मध्ये
ठूला दुर्घटनामा परेकाहरुका लागि नेपालीहरुले सामाजिक सञ्जाल मार्फत आर्थिक
सहयोग पनि उठाएको देखिन्छ । कोरियामा कम्पनीको काममा मात्र होइन बाहिर
यात्रा गर्दा पनि होसियारी पूर्वक यात्रा गर्नु पर्दछ । वि.स २०७९ साउन महिनामा
कोरियाको ख्यङगीदो प्रान्त स्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन
मगरको ज्यान गयो । बाहिर निस्कदा बाटो काट्दा सवारी साधनले ठक्कर दिएर
उनको ज्यान गएको हो । कोरियामा श्रमिकसंगै नेपाली विद्यार्थीहरु पनि अध्ययन
गर्नको लागि आउने क्रम बढ्दै गएको छ । नेपाली विद्यार्थीहरुको सन्दर्भमा पनि
कोरियन भाषा र सीपहरु हुन सकेमा पार्टटाइम काम गर्नको लागि निकै सजिलो हुने
गर्दछ । कोरियामा रहेका नेपालीहरूको सम्भावना र समस्याहरूको सन्दर्भमा लामो
समय देखि कोरियामा रहनुभएका प्रो.डा. बोजेन्द्र तुलाचन भन्नुहुन्छ “
कामदारहरुमा देखा परेका समस्या र उनीहरूको पीडालाई सम्बोधन गर्नको लागि
आत्मविश्वास हुने किसिमका सकारात्मक तालिमहरु दिनुपर्दछ । त्यसैगरी
नेपालीहरुले काम गर्ने र खाने समयसँगै आफ्नो लागि पनि छुट्टै समयहरु छुट्टाएर
रमाउन सक्नुपर्दछ ” । कोरियामा यति धेरै सम्भावना,अवसर र चुनौतीहरु हुँदाहुँदै
पनि नेपालीहरुमा मानसिक र शारीरिक रूपमा धेरै समस्याहरु छन् । शारीरिक र
मानसिक समस्याहरु बढ्दै जाँदा डिप्रेसन बढ्दै जाने र आत्महत्या सम्म पुग्ने धेरै
घटनाहरु छन् । यो समस्या कोरियामा रहेका नेपालीहरूको लागि निकै ठूलो
चुनौतीको विषय हो । आत्मविश्वासहरु बढाउन नसक्नु ,साथीभाइहरूसँगको घुलमेल
बाट टाढा बस्नु र परिवारसँग पनि टाढा हुनुले मानसिक र सामाजिक समस्याहरु
बढ्दै गएको पाइन्छ । कोरियामा समाजसेवामा सक्रिय योगिता गौतम (किम युमी)
भन्नुहुन्छ “ नेपालबाट लामो समय लगाएर कोरियन भाषा पास गर्ने र कोरिया आइ
सके पछि कोरियाका पर्याप्त कानुनहरु थाहा नहुनु पनि एउटा समस्या हो । त्यस्तै
साथी भाइहरूको लहलहैमा लागेर कम्पनीहरु छिटोछिटो परिवर्तन गर्ने समस्याहरु
छन् । त्यसकारण कोरियामा रहेका सम्बन्धित संघसंस्थाहरुले यस विषयमा केन्द्रित
भएर तालिम र अभियानहरु चलाउन जरुरी देखिन्छ । नेपालका अधिकांश युवा
पुस्ताहरु विदेशमा छन् । उनीहरूको रेमिट्यान्सबाट राज्य चलेको छ । तर राज्य
चलाउनेहरु ती विदेशमा रहेका युवा पुस्ताहरुको बारेमा खासै संवेदनशील देखिँदैन
। कोरियाबाट मात्र प्रत्येक वर्ष झन्डै ६३ अर्ब रुपैयाँ भन्दा बढि रेमिट्यान्स नेपाल
जाने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरियाबाट स्वदेश फर्केका अधिकांश
युवाहरुले आफ्नो सीप र ज्ञानलाई नेपालमा प्रयोग गरेको कमै पाइँन्छ ।
कोरियाबाट सीप र आर्थिक दुबै लिएर फर्केका नेपालीहरुलाई राज्यले सदुपयोग
गर्न सकेको पनि छैन । उनीहरूको सीप र उनीहरूको लगानीलाई राज्यले
सुनिश्चितका साथ उत्पादन क्षेत्रमा लगाउन सकेको खण्डमा देशको केही मात्रामा
विकास हुने थियो । मान्छेहरुमा सकारात्मक भन्दा पनि नकारात्मक सोचको
बिकास बढ्दै जाने भएका कारणले पनि कोरियामा दुर्घटना ,हत्या र आत्महत्याका
घटनाहरु बढ्दै गएको यस सम्बन्धी विज्ञहरू बताउँछन् । वि.स.२०७९ असोजमा
नुवाकोट जिल्ला पन्चकन्या -१ का प्रकाश विश्वकर्माको कोरिया आएको ६
महिनामै आफ्नै नेपाली सहकर्मी साथीबाट हत्या भयो । प्रकाशको मृत्युसंगै
कोरियामा प्रकाशले देखेका सपना र परिवारका सुखहरु प्रकाशन संगै बितेर गए ।
कोरियाको बसाईलाई सकारात्मक बनाउने आफ्नो भोलिको भविष्यलाई सुनिश्चित
बनाउने जिम्मा तपाईं हाम्रै हातमा छ । नेपालीहरूको समस्याको सन्दर्भमा नेपाली
दुतावास सउलका ( deputy chief of the mission) मिसनका उपप्रमुख
रामसिंह थापा भन्नुहुन्छ ।“ कोरियामा रहेका नेपालीहरुको समस्या समाधान गर्नका
लागि विशेष खालका कार्यक्रमहरु गर्नुपर्ने आवश्यक छ । खास गरेर पारिवारिक
कारणले नै धेरै नेपालीहरुमा मानसिक तनाव अरु बढ्दै गएको देखिन्छ । सन्
२०२२ मा मात्र हामीले कोरियामा रहेका विभिन्न सङ्घसंस्थासँग मिलेर १८ वटा
मानसिक परामर्शका कार्यक्रमहरु गरेका छौं । नेपालीहरुका समग्र समस्याहरुलाई
समाधान गर्न सबैको समान सहयोग पनि आवश्यक पर्दछ ।” राज्यले आफ्ना
नागरिक विदेश पठाउने श्रम नीतिमा पनि पुनरावलोकन गर्नुपर्ने बेला आएको छ ।
विदेश पठाउने नागरिकहरूको लागि कुन देशमा जाने हो । त्यहाँको सीप, भाषा र
सुरक्षा राज्यले नै ग्यारेन्टी गर्न सक्नु पर्दछ । कोरियाको सन्दर्भमा नेपाल सरकार र
कोरियन सरकारबीच भएका श्रमसम्झौता पुनरावलोकन पनि गर्नु पर्दछ ।
कोरियाको श्रम ऐनले नै कामदारलाई १ लाख ४२ हजार रुपैयाँ भन्दा कम
पारिश्रमिक दिन नपाइने व्यवस्था गरेको भएपनि रोजगार अनुमति प्रणाली
(इपिएस) मार्फत आउनेहरुले महिनामा सरदरमा डेढ देखि दुई लाख वा त्यो भन्दा
माथि कमाइ गर्दछन् । कोरियामा रहेका विदेशीहरुले कोरियन भाषाको दक्षता
बढाउँदै जाने हो, भने लामो समयसम्म बस्नको लागि भिसा परिवर्तन पनि गर्न
सकिने थुप्रै सम्भावनाहरु छन् । त्यसकारण कोरियामा आत्महत्या र हत्या होइन ।
आत्मविश्वास बढाउने तर्फ लागौं ।
(लेखक कोरियामा अध्ययनरत छन् )