नेपाल पत्रकार महासंघले ‘पत्रकार आपतकालीन राहत कोष’ स्थापना गर्ने

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार १९:५७

नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकारको दैनिक जीवनयापनमा समस्याका कारण पेशाबाटै पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आउन नदिन महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने पहलकदमी लिएको हो ।

महासंघ केन्द्रीय समितिले ३० लाख रुपैया जम्मा गरेर सुरुआत गरेको कोषमा नेपाल पत्रकार महासंघका शाखा बेलायत, युरोप, जापान, युएई, दक्षिण कोरिया, कुवेत, भारत, कतार तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्ट्रेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले बताएका छन् ।महासंघका प्रदेश र जिल्ला शाखा  , एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने उहाँले बताउनुभयो ।

कोषमा जम्मा भएको रकम खर्च नगर्ने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने महासंघको तयारी छ ।यस्तै कोष सञ्चालन निर्देशिका र मापदण्ड पनि तयार गर्ने बताउँदै महासंघले सहयोग गर्न चाहने संघ, संस्था र व्यक्तिहरुलाई नेपाल बंगलादेश बैंकको खाता नं ००१०७००३१५ उपलब्ध गराएको छ ।

कोभिड १९ सक्रमणका कारण कतिपय पत्रकारले जागिर गुमाउनु परेको, बेतलवी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता समस्या भोग्नु परेको अवस्थामा महासंघले यस्तो पहलकदमी लिएको लिनुपरेकाे हाे ।

तपाईंको प्रतिकृयाहरू