मेहनेत गरे कोरियामा धेरै राम्रो आम्दानी गर्न सकिन्छ -जुनु गुरुङ्

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार ०२:००

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया

ब्यापारिक भिसामा सन् २००६ मा कोरिया प्रवेश गर्नुभएकी जुनु गुरुङ अहिले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको उपाध्यक्ष हुनुहुन्छ । सानो मार्ट सेन्टर खोलेर व्यवसाय शुरु गर्नुभएकी उहाँले केहि समयपछि रेष्टुरेण्ट व्यवसाय पनि आरम्भ गर्नुभयो । व्यवसायका अलवा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय गुरुङलाई कोरिया सरकारले मानार्थ नागरिकतासमेत प्रदान गरेको छ । उहाँ मानार्थ नागरिकता पाउने पहिलो नेपाली महिला हुनुहुन्छ । कोरियामा रहेका नेपालीहरुको समस्या समाधानमा निकै सक्रियतासँग लाग्नुभएकी गुरुङ वमन फर वमन संस्थाको अध्यक्ष पनि भैसक्नु भएको छ । । सामाजिक अभियन्ता गुरुङसँग कोरियामा रहेका नेपाली विशेषगरी महिला कामदार, कोरिया रोजगारीको अवस्था तथा त्यहाँका समस्या र समाधानका विषयमा गरिएको कुराकानीको सारसंक्षेप :

दक्षिण कोरिया नेपालीहरुका लागि आकर्षक गन्तव्यमा रुपमा लिइन्छ, त्यहाँ कार्यरत नेपाली कामदार अझ बिशेषगरी महिला कामदारको अवस्था कस्तो छ ?

हो, दक्षिण कोरिया वैदेशिक रोजगारका लागि राम्रो गन्तब्य मानेर नेपालीहरुको संख्या बढिरहेको छ । कोरियामा इपिएस प्रणालीमार्फत गएका २ हजारका हाराहारीमा नेपाली महिला कामदार कार्यरत रहेको हाम्रो अनुमान छ । उनीहरुमध्ये झण्डै ८० प्रतिशत कृषि क्षेत्रमा गएका छन् । पढे लेखेका र शिक्षित भए पनि कृषिको क्षेत्रमा धेरै नै खटेर काम गर्नुपर्ने हँुदा खासै काम गर्ने बानी नभएका नेपाली महिला दिदीबहिनीहरुलाई कोरियामा काम गर्न भने सहज छैन । उता कृषि क्षेत्रमा जाने महिलाहरु शुरुशुरुमा बेरोजगार बन्ने गरेको अवस्थाले पनि समस्या चाँही छ । यस्तै कोरियामा म्यारिज भिसामा पनि आफ्नै प्रयास तथा दलालको सहायतामा जाने महिलाहरु प्रसस्तै छन् । उनीहरु अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् तर कोरियन श्रीमान भने ५० वर्ष र अझै बृद्ध हँुदा उमेरको ग्यापले पनि उनीहरुमा विभिन्न खाले समस्याहरु देखिएका छन् ।

तपाई आफै पनि नेपाली महिला कामदारका हकहित, अधिकार र सुरक्षाका लागि लडिरहनुभएको छ । प्रवासी भूमिमा महिला कामदारका सवालमा समस्या समाधानका लागि कस्तो खाले पहल गरिरहनु भएको छ ?

हामीले कतियय अवस्थामा नेपाली महिलाहरु समस्यामा परेको ठाँउमै गएर काम गर्नुपर्ने हुन्छ तर विदेशको ठाउँमा आउनेजाने समस्याका कारण पनि यसमा पक्कै कठिनाई छ । उता पीडितहरुलाई पनि न्याय माग्ने ठाउँसम्म जान कठिनाई, भाषा, आर्थिक लगायतका समस्या हुन्छन् । कोही ठाउँमा तलब नपाएका, कोही ठाउँमा पीडित बनाइएका, शारीरिक शोषणमा परेका दिदीबहिनीहरु पनि छन् । कतिपय अवस्थामा त नेपाली दाजुभाईबाटै पीडित बन्नुपरेको अवस्थासमेत हामीले पाएका छौ । हामी महिला दिदीबहिनीहरुको यीनै विभिन्न खाले समस्या समाधानमा निरन्तर लागिरहेका छौ ।

महिला अधिकार सम्वन्धी संस्था वमन फर वमनको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । यो संस्थाले कोरियामा रहेका नेपाली महिला कामदारका हकमा कस्तो काम गरिरहेको छ ?

हामी कोरियामा रहेका केहि महिला साथीहरुको सरसल्लाहबाट यो संस्था जन्मिएको हो । हामीले फिल्डमै गएर समस्यामा परेका महिला दिदीबहिनीहरुका समस्या बुझने, समाधान गर्ने र उहाँहरुलाई परामर्श दिने काम ग¥यौ । बेरोजगार भएकाहरुलाई हामीले सेल्टरमा बस्ने व्यवस्था मिलायौ । कोरियन श्रीमानबाट यातना भोगेकाहरुलाई दूतावासको सहयोगमा उद्धार ग¥यौ, खर्च अभाव भएकाहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्थादेखि पीडितहरुलाई त्यहाँ रहेका चर्च तथा गुम्बाहरुसँगको सहयोगमा आर्थिक सहायता गर्ने कामसम्म ग¥यौं । यसबाहेक हामीले हरेक महिनाको अन्तिम आइतबार फ्री मेडिकल सेन्टर संचालन गरेका थियौं यो अहिलेसम्म संचालनमा छ ।

कोरिया सरकार, नेपाली नियोग तथा त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले नेपाली कामदारका समस्या समाधानमा कत्तिको पहल गरेको पाउनुभएको छ ?

कोरियामा झण्डै ६० वटा संघसंस्थाहरु स्थापना भैसकेका छन् । उनीहरुले स्वदेशका लागि तथा कोरियामै कार्यरत नेपालीका सन्दर्भमा केहि न केहि भूमिका निभाइरहेका छन् । यो आधारमा संस्था बढ्नु पनि राम्रो नै हो जस्तो लाग्छ । ४० हजारका हाराहारीमा नेपालीहरु कोरियामा रहेका छन् । बेरोजगारी हुँदा होस् या विरामी पर्दा अथवा कुनै समस्या पर्दा नै होस् सबै संघसंस्थाले आफुले सकेको सहयोग गरिरहेको अवस्था छ । नेपाली दूतावासले पनि आफ्नो क्षमता र स्रोत साधन अनुसार काम गरिरहेकै छ ।

पछिल्लो समय कोरियामा नेपालीहरुको आत्महत्याका घटना बढ्दो छ । यस्तो अवस्था किन सिर्जना भैरहेको छ ?

हो, एकै महिनामा ४ वटा यस्ता घटना भएकोसम्म पनि हामीले पाएका छौ । विशेषगरी पढेलेखेकाहरुनै त्यहाँ डिप्रेशनको शिकार भैरहेका छन् । आफुभन्दा कम पढेका र साना भाइबहिनिहरुले पनि आफुभन्दा बढि कमाई गरेको देख्दा तथा आफ्नो पढाइ र क्षमताको कुनै काम नहुँदा उनीहरु हीनतावोध र डिप्रेशनको शिकार हुनेगरेको देखिएको छ । नेपालमा परिश्रम नगर्नेहरु कोरिया पुगेर बलको काम गनुपर्ने र त्यस्तो काम गर्न नसक्ने हुँदा पनि आत्महत्या रोज्न पुग्दछन् । बिशेषगरी पढेलेखेका यस्तै दाजुभाईहरुले नै बढि आत्महत्या गर्ने गरेको हामीले पायौं ।

दक्षिण कोरिया जान चाहनेहरुलाई तपाई कस्तो सुझाव दिनुहुन्छ ?

आम्दानीको हिसावले भन्ने हो भने कोरियामा नेपालीहरुले डेढलाखदेखि ३ लाखसम्म हरेक महिना कमाइ गरिरहेका छन् । तर कामको हिसावले हेर्ने हो भने यहाँ निकै कठिन परिश्रम गर्नुपर्छ । ‘थ्री डी’ अर्थात धेरै परिश्रमको काम नै हो नेपालीहरुले गर्ने कोरियामा । ९० प्रतिशतभन्दा बढी नेपाली गाह्रो काममा नै कार्यरत छन । न्यूनतम पनि दिनको १२ घण्टा त खट्नै पर्ने हुन्छ । यही कुरा बुझेर आफुलाई मानसिकरुपमा तयार बनाउने हो भने कोरिया रोजगारी आम्दानीका हिसावले राम्रो नै छ । कोरियामा पैसाको रुख छैन, परिश्रम गरेर अर्थात पाखुरा बजारेर नै पैसा कमाउने हो भन्ने कुरा सबैले बुझ्नु पर्छ ।

अर्कोतर्फ सीप सिकेर र राम्रोसँग भाषा जानेर मात्र कोरिया जानु उपयुक्त हुन्छ । सरकारले पनि सीप सिकाएर मात्र नेपालीहरुलाई पठाउन प्रोत्साहन गर्नुपर्छ ।

अन्त्यमा प्रसंग बदल्छु, तपाईले कारियामा मानार्थ नागरिकता प्राप्त गर्नु भएको छ , कसरी संभव भयो ?

हो, मलाई कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरेको छ । सामाजिक कार्यमा सक्रिय भएर लागेको कारण नै मैले मानार्थ नागरिकता पाएको हो जस्तो लाग्छ । महिलाहरुको सेवामा म ब्यक्तिगतरुपमा बिगतदेखि नै लागि रहेँ । नेपाली समाजमा सक्रिय भएर महिलाहरु भएको ठाउँमा नै गएर उनीहरुको समस्या राम्रोसँग समाधान गर्न सकेँ । समस्यामा समाधानका लागि नेपाली महिलाहरु राख्नका लागि छुट्टै सेल्टरको स्थापना ग¥र्यौ । महिलाहरुलाई बाहिर बस्न असहज हुने हुँदा सेल्टर निकै उपयोगी भएको छ । नेपाली दूतावासकोे सहयोग र आग्रहमा मैले मानार्थ नागरिकता पाउन सफल भएको हो । यस्तो नगारिकता पाउने अन्य नेपाली महिला छैनन जस्तो मलाई लाग्छ ।

तपाईंको प्रतिकृयाहरू