प्रचण्ड भारतका गोटी र क्रान्तीको घाँटी निमोठ्ने व्यक्ती हुन् -पूर्व माओवादी नेता ओली

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार १३:३४

(माओवादी आन्दोलनभित्र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ मोहन वैद्य किरणपछिका दोस्रो दार्शनिक नेताका रुपमा गनिन्छन् । दार्शनिक नेता भएपनि किरणजस्तै ओली पनि कहिल्यै प्रचण्डको नजिक रहन सकेनन्, न त अनेक घेराहरूमा बस्ने आरोप खेप्दै आइरहेका प्रचण्डले नै उनीहरूलाई खोजे । उनीभन्दा निकै कम योगदान दिएका जुनियरहरू सभासद् र मन्त्री बने पनि ओलीले त्यस्तो अवसर पार्टीमा रहँदा कहिल्यै पाउन सकेनन् । बरु उनलाई सांस्कृतिक विचलनको आरोप लगाउँदै पार्टी भित्रबाटै शहीद बनाइयो । ओली भन्छन्, ‘मैले कम्युनिष्ट आचरण नदेखाएको भए धेरै अवसर पाउथेँ, तर कहिल्यै अवसरको पछि लागिनँ ।’ प्रस्तुत छ, तत्कालीन एमाओवादी परित्याग गरेर कम्युनिष्ट न्युक्लियस नेपाल नामक पार्टीमार्फत सक्रिय देखिएका ओलीसँग सरकार परिवर्तन, कांग्रेस–माओवादी गठबन्धन र माओवादी आन्दोलनलगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश: सम्पादक)

० पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईंले कसरी विश्लेषण गरिरहनु भएको छ ?

–पछिल्लो राजनीतिक घटनाक्रम भनेको सरकार परिवर्तनको घटना हो । कम्युनिष्टहरू संसदीय व्यवस्था या पुरानै राज्य व्यवस्थामा गएपछि कसरी प्रतिक्रियावादी भूमिका निर्वाह गर्दा रहेछन् भन्ने कुराको गतिलो उदाहरण पछिल्लो राजनीतिक घटनाक्रमले देखाएको छ । नेपालमा दलाल, पुँजीवादी अर्थतन्त्र छ । दलाल पुँजीवादी यही अर्थतन्त्रलाई संरक्षण गर्ने दलाल पुँजीवादी राज्य सत्ता छ, पुरानो सामन्तवादी राज्यसत्ता अहिले यसमा परिणत भएको छ । हो, त्यही दलाल पुँजीवादी राज्यसत्ताद्वारा दलाल पुँजीवादी अर्थतन्त्र संरक्षणका लागि प्रचण्डको पालो आएको छ ।

० एउटा बहुमतीय सरकार हठात् गिराएर अर्को त्यस्तै प्रकृतिको आकास जमिन सिद्धान्त फरक भएकाहरूबीच सरकार बनाइनुलाई चाहिं तपाईं के ठान्नु हुन्छ ? के यो वर्तमानको आवश्यकता थियो ?

–यो त लाटाले पनि बुझ्ने कुरा हो । केपी ओलीले चीनको सहयोग लिन खोजेको घटनाले नै अहिलेको सत्ता परिवर्तनको खेल भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विशेष गरेर भारतीय शासकहरूलाई चीनसंगको हिमचिम फिटिक्कै मन परेको थिएन, उनीहरू चीनसंग केपी ओलीले राखेको सम्बन्धबाट वास्तवमा निकै नै अत्तालिएका थिए । उनीहरू कुनै पनि बाहनामा यो सरकार ढाल्न चाहन्थे । त्यसैले यो सरकारको विकल्प खोजिएको हो ।

० तपाईंको पुरानो पार्टी अध्यक्ष प्रचण्डलाई यो सरकार ढाल्न केले प्रेरित गर्‍यो होला ?

–‘डाइमन्ड कट डाइमन्ड’ भनेजस्तै एउटा संशोधनवादी (केपी ओली) ढाल्न अर्को संशोधनवादी (प्रचण्ड, प्रचण्ड पनि के भन्नु पुष्पकमल दाहाल)लाई प्रयोग गरेर भारतले ठेगान लगाएको हो । प्रचण्ड आफ्नो विवेकले भन्दा पनि यो सरकार ढाल्न दक्षिणको गोटी बनेर खडा भएका हुन् ।

० तर, प्रचण्ड नेतृत्वको माओवादीले त ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेको, भूकम्पपीडितको सुस्केरा सुन्न नसकेको र भद्रसहमति नटेरेकाले मात्रै जनपक्षीय सरकार बनाउन यो सरकार ढाल्न परेको हो भन्दै आइरहेको छ त ?

–यी त सब भन्ने कुरा न हुन् । पहिलो कुरा ओली सरकार र दाहाल सरकारमा तात्विक फरक छैन । यी दुवै पुराना राज्यसत्ता र दलाल पुँजीवादी अर्थतन्त्रका संरक्षक हुन् । पात्र फेरिए पनि यसको आत्मा एउटै हो । जहाँसम्म जनपक्षीय सरकारको कुरा छ यो सबै बकबास हो । यी के को जनपक्षीय सरकार हुनु ?

० भनेपछि प्रचण्ड आफ्नो सुझबुझले भन्दा पनि भारतकै गोटी बनेर प्रधानमन्त्री बनेका हुन् यसपटक ?

–हो, प्रचण्ड भारतकै इशारामा यसपटक प्रधानमन्त्री बनेका हुन् । मलाई कुनै ढाँटछल गर्न आउँदैन, क्लियर कुरा हुन्छ । यथार्थ यही हो ।

० लामो समय माओवादी आन्दोलनमा रहनु भयो । विगतमा दक्षिणतिरबाट आएका यस्ता दबाबको साक्षी धेरैपटक हुनु भएको होला हगि ?

–जनयुद्धको दौरानमा म हेर्डक्वार्टर नजिक रहिनँ । यद्यपि, जनयुद्धमा भएकाले यस्ता दबाब दिने हिम्मत कसैमा पनि थिएन । खासगरी १२ बुँदे हुँदै शान्ति प्रक्रियामा आएपछि प्रचण्ड खासगरी पुष्पकमल दाहालमा परिणत भए र यसले प्रतिगमनको बाटो लिंदै अघि बढ्यो । निश्चय नै शान्ति प्रक्रियामा आउनु नयाँ कुरा थियो, त्यसले प्रगतिको बाटो समात्नु पर्दथ्यो । तर, भैदियो उल्टो । यसले प्रगतिको बाटो नसमातेर पश्चगमनको बाटो समात्यो । १२ बँुदे समझदारीपछि घेराबन्दीमा माओवादी पर्दै गयो, त्यस्तो कतिपय घेराबन्दीमा माओवादी आफैं जानीजानी परेको छ ।

० प्रचण्ड प्रधानमन्त्री भएका छन्, उनको कार्यकाल कस्तो हुने देख्नु हुन्छ ?

–प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नु भएको छ । सरसल्लाह अनुसार नै उहाँ नौ महिना प्रधानमन्त्री बन्नु हुनेछ, त्यसपछि उहाँले कांग्रेसका लागि मार्गप्रशस्त गर्नुपर्ने हुन्छ । चुनाव कांग्रेसले गराउने गरी अर्को सरकार बन्छ । त्यसैले यो सरकारको चुनौती र सम्भावना केही पनि छैन । प्रधानमन्त्री हुने, मन्त्री हुने, चुनाव र सन्तान–दरसन्तानका लागि पैसा कमाउने र भ्रष्टाचार गर्ने यो सरकारको मुख्य उद्देश्य हो । जनताले यो सरकारबाट केही पनि पाउनेवाला छैनन्, अपेक्षा पनि गरेका छैनन् ।

० पछिल्लो कांग्रेस र माओवादी केन्द्रबीच समीकरण बनेको छ । यो कस्तो समीकरण हो ?

–कांग्रेस र मधेसवादी दलहरू दलाल पुँजीवादी पार्टी हुन् । दलाल पुँजीवादीमा अर्को पार्टी माओवादी थपिएर अहिले अपवित्र गठबन्धनको सरकार प्रचण्डको नेतृत्वमा बनेको छ, यो बिडम्वनाको कुरा हो ।

० दस्ताबेजमा कांग्रेसलाई प्रधानशत्रु भनेको, जनवादी क्रान्तिकारी अग्रगमनको धारमा अघि बढेको दावी गरेको माओवादी केन्द्रको घाँटी त्यही प्रधानशत्रुसंग जोडिन पुगेको छ । यसको अर्थ माओवादीको वर्ग विश्लेषण फेरियो भन्ने हो ?

–माओवादी केन्द्र प्रचण्डको प्रवृत्तिसंग गाँसिएको छ । जर्मनीमा सन् १९१८ मा सिदेमान सत्तामा गएपछि रोजा लक्जेम्वर्ग र अर्का नेता कार्ल लिस्टनेटको हत्या गरेका थिए । आज पनि प्रचण्डले पाए भने क्रान्तिकारीको हत्या गर्न सक्छन् । प्रचण्ड अहिले सिदेमान बन्न अघि बढिरहेका छन् ।

० आतंककारी करार गर्दै टाउकाको मूल्य तोक्नेसंग माओवादी केन्द्रको प्रणय सूत्र जोडिएको छ । यो कति टिक्ला ?

–वर्गीय राजनीति नै छाड्दिएपछि त वर्ग समन्वय भइहाल्छ नि † टाउकाको मूल्य तोक्नेसंग घाँटी जोड्न जसरी पुगेका छन् त्यो त वर्ग समन्वयको परिणाम हो । धनी र गरीब एउटै हो भन्नेहरूको लाइन हो यो ।

० यो गठबन्धनको साइड इफेक्ट के हुन्छ त ?

–अब संकट र अराजकता बढ्दै जान्छ । त्यो अराजकता र अराजकताको बीचबाट संगठित क्रान्तिकारी शक्तिको उदय हुन्छ र वैज्ञानिक समाजवादको स्थापना गर्ने र साम्यवादको दिशातिर अघि बढ्ने बाटो तय हुन्छ । अब वैदेशिक हस्तक्षेप पनि बढ्दै जाने देखिन्छ । हस्तक्षेपले राष्ट्रिय युद्ध गर्ने स्थिति पनि पैदा गर्न सक्छ । अमरेश सिंहको अन्तर्वार्ता त तपाईंले सुन्नुभएकै होला । उनले उक्त अन्तर्वार्तामा अहिलेको संविधान कार्यान्वयन भएर एमालेले राष्ट्रपति र माओवादीले सभामुख पाएको र अब संविधानको कुनै पनि कुरा कार्यान्वयन नहुने स्पष्ट पारेका छन् । अब उनले भनेजस्तै देशको राजनीति त्यतातिरै जाने देखिन्छ ।

० जीवनमा ठूलो लगानी गरेर बनाएको पार्टीबाट अहिले बाहिर हुनुहुन्छ । यस्तो परिस्थिति कसरी आयो ?

–हामीले शोषित–पीडित जनताको मुक्ति र आमूल परिवर्तनका लागि युद्ध लडेका थियौं । कसैलाई नेता बनाउन, तिनको घर घडेरीको बन्दोबस्त गर्न र अकुत धनसम्पत्तिको प्रवन्ध मिलाउन युद्ध लडेको थिएनौं । तर, हामीले रगत पसिना बगाएर बनाएको पार्टी नेतृत्व त्यतातिर लागेन, बाटो बिराएर वर्ग समन्वयतिर गयो । त्यसैले शहीदहरूले बगाएको रगतको सम्मान गर्न अलग पार्टी बनाएर अघि बढ्ने निर्णय गर्दै विद्रोह गरेको हुँ ।

० तपाईंमाथि पार्टीबाटै सांस्कृतिक विचलनसहितका केही आरोप लगाइएका छन् नि ?

–हो, ममाथि केही निराधार आरोपहरू लगाइएका छन् । त्यसमा छलफल गर्न सकिन्थ्यो । तर, ममाथि पूर्वाग्रह राखेर गालीगलौजको वर्षा मात्र गरियो, छलफल गरिएन । राजनीतिमा सकिइसकेपछि गालीगलौजको राजनीति थालिन्छ । म आफैंले रगत पसिना बगाएर बनाएको पार्टीभित्रै यसको सिकार भएँ ।

० यसबारेमा तपाईंले पार्टी अध्यक्षसंग कुरा गर्नु भएन त ?

–मलाई पार्टीबाट निकालिएको भनेर प्रचार गरिएको छ, तर मैले त्योभन्दा पहिले नै राजीनामा दिइसकेको थिएँ, पार्टीको कार्यशैलीबाट आजित भएर । मेरा असन्तुष्टिका विषयमा कुरा गर्न राजीनामा दिनुअघि म कैयौंपटक प्रचण्डकोमा गएँ , घन्टौं उनको लाजिम्पाट निवासमा गएर बसें । नपत्याए लेखराज भट्ट र लोकेन्द्र विष्टलाई सोध्नुस् । तर, उनी मसंग कुरा गर्न कहिल्यै तयार भएनन् । कतिसम्म भने प्रचण्ड मलाई भेट्नु पर्ने त्रासले भागी–भागी हिंडे ।

० प्रचण्डले तपाईंसंग भेट्न किन अनिच्छा देखाएका होलान् ?

–मसंग सैद्धान्तिक रुपमा बहस गर्न सक्ने ल्याकत नभएपछि उनी भागेर हिंडेका हुन् । आचरण र कारबाहीका कुरा गरेका प्रचण्डको पनि हात त सफा हुनुपर्‍यो नि ? गन्धा हातले कारबाही गरेर हुन्छ ?

० तपाईंले आफ्नै पुराना सहकर्मी बढी खनिएको गुनासो गर्दै आइरहनु भएको छ । तपाईंमाथि आफ्नै सहकर्मीहरू किन खनिएका होलान् त ?

–विचार सकिएपछि मान्छे भौतिक रुपमा आक्रमण गर्न आउँछन् । माओवादीमा त्यस्ता केही मुर्ख जन्तुहरू छन् जसले जीवनमा अहिलेसम्म माक्र्सवाद र वैज्ञानिक पुस्तक कहिल्यै पनि पढेका छैनन् । तिनीहरूले मात्र सत्ता र पैसा पढेका छन् । जनयुद्धकालदेखि नै कलर ल्याब खोलेर बसेकाहरू आफ्नो लुटको सम्पत्तिमाथि पोल खुल्ने डरले ममाथि खनिएका हुन् ।

० त्यस्ता मुर्ख जन्तुहरू को हुन् बताइदिनुहोस् न ?

–तपाईं बुझिहालिहाल्नु हुन्छ । नाम भन्दा पनि यो प्रवृत्तिको कुरा हो ।

० माओवादीमा धेरै अनियमितता, भ्रष्टाचार र प्रदुषण छ भन्नुभयो । यसको खुलासा गर्नु तपाईं जस्तो क्रान्तिकारी नेताको दायित्व होइन र ?

–हो, यो मेरो दायित्व हो । यो विषयमा मैले केही गरिसकें, केही गर्न बाँकी छ । मसंग सबै सत्य प्रमाणहरू छन् । अमिक शेरचन आयोगको प्रतिवेदन पनि छ । यी सबै लिएर म यसको भण्डाफोर गर्ने सोचमा छु । म अहिले त्यही भित्रका केही क्रान्तिकारीहरू बोल्छन् कि भनेर हेरिरहेको छु । कोही पनि बोलेनन् भने म एक दिन यसको भण्डाफोर गर्नेछु ।

० माओवादी निरन्तर पुड्को बन्दै गइरहेको छ, यसको कारण के ठान्नु हुन्छ ?

–माओवादी निरन्तर पुड्को बन्नुको कारण यहीँतिर खोज्नुपर्छ । माओवादी केन्द्र माओवादी नभएर खाओवादीहरूको भीड हो । अहिले नै हेरौं त त्यहाँ मन्त्रीका लागि कति मारामार छ † के माओ यस्तै हुनुहुन्थ्यो ? त्यसैले यी कम्युनिष्ट नै होइनन् ।

० अवसर नपाएपछि हेमन्तले आगो ओकल्यो भन्ने आरोप पनि तपाईंमाथि छ नि ?

–मैले महरालाई मन्त्री बनाएँ, जनार्दनलाई म मन्त्री हुनु र तपाईं मन्त्री हुनु एउटै हो भनेर सहयोग गरें । वर्षामान पुन, लोकेन्द्र विष्ट मगर र आफूभन्दा निकै जुनियर शक्ति बस्नेतलाई मन्त्री बनाएँ । तर, तिनीहरूले कहिल्यै यता हेनुपर्छ कि पर्दैन ? वर्षमान पुनले प्रचण्डसग गएर ‘मेरो चल्ने कुरा केही भएन श्रीमतीलाई सभामुख बनाइदिनुस्’ भनेछन् । हामी चल्ने कि नचल्ने ? ममा कम्युनिष्ट चरित्र नभएको भए हिजैदेखि झगडा गर्न सक्थे, लाभका लागि । तर, मैले कहिल्यै त्यसो गरिनँ, हेरिराखें, सहिरहें । मन्त्री बन्ने, स्थायी समिति सदस्य बन्ने कुरा त प्रचण्डको हातको भन्दा पनि लैनचौरसंगको रेकर्ड राम्रो छ कि छैन भन्नेमा भर पर्ने रहेछ । सबै नयाँ दिल्लीका भक्त भएपछि हामी त्यहाँ किन बस्नु ? सच्चा कम्युनिष्ट एक भएर स्वतन्त्र धाराको निर्माण गर्नु पर्‍यो नि ? पुच्छरवादी धाराको हिजो प्रचण्डले हिजो बिरोध गरेका होइनन् ?

० तपाईंको बुझाइमा प्रचण्ड आफैंमा कस्ता व्यक्ति हुन् ?

–प्रचण्डलाई हामीले गतिशील र विचारशील भनेर मूल्यांकन गरेका थियौं । तर, पछि उनी दलदलमा फसे । राज्य सत्ता ढाल्नु भन्दा पनि आदतको सत्ता ढाल्नु १० गुणा कष्टसाध्य हुँदोरहेछ । प्रचण्डको आदतको सत्ता ढलेन र त्यसका साथसाथै नेपालमा पुरानो राज्य सत्ता नै ढलेन ।

० प्रचण्ड माओवादीको भविष्य के होला ?

–प्रचण्ड माओवादीको पतन नै भइसक्यो, अब यसको कम्युनिष्ट भविष्य नै छैन । अब यो पार्टी एमालेमा विलय हुन्छ । प्रचण्ड र केपी ओलीको पार्टीको एकताको विकल्प छैन ।

० पछिल्लो समय माओवादीबाट बाबुराम अलग भएका छन् भने वादल समूह एकतामा आएका छन् । यसमा तपाईंको विश्लेषण के छ ?

–बाबुराम र प्रचण्ड एउटै हुन् । जहाँसम्म बादलको कुरा छ, उहाँ पनि नवसंशोधनवादमा पतन हुनुभयो । हिजो उहाँले प्रचण्डलाई लाल गद्दार भन्नुहुन्थ्यो, आज त्यो लाल गद्दार कसरी चोखियो ? बादल भनेको ढोंगी, पाखण्डी, मध्यपन्थी हुनुहुन्थ्यो हिजो, आज आएर संसद्वादमा पतन हुनुभयो । उहाँबाट हामीले आशा गरेका थियौं तर विश्वासघात गर्नुभयो । बाबुरामजीको कुरै नगरौं, उहाँ खोलै च्यातेर जानु भयो । यद्यपि, प्रचण्डभन्दा बाबुराम नै इमान्दार हुन् ।

० तपाईं आफैंचाहिं कसरी अघि बढिरहनु भएको छ त ?

–तीन उद्देश्य राखेर कम्युनिष्ट न्युक्लियस नेपाल पार्टी खोलेका छौं । नेपालमा यत्तिको कम्युनिष्ट आकर्षण हुँदा पनि बिउ जोगाउन मुस्किलसम्मको खतरा आइपरेकाले हामी कम्युनिष्ट बिउ जोगाउँदैछौं । हामी क्रान्तिकारीबीच ध्रुवीकरण र एकता गर्दैछौं ।

० को–कोसंग एकता गर्दै हुनुहुन्छ ?

–मोहन वैद्य नेतृत्वको क्रान्तिकारी र विप्लव नेतृत्वको माओवादीसंग एकताको कुरा अहिले चलिरहेको छ । एकताका लागि छलफल गरिरहेका छौं ।

विप्लवले फेरि जनयुद्धको कुरा गरिरहेका छन्, के नेपालमा अझै यसको सम्भावना छ ?

–सम्भव छ । नेपालमा जम्मा १० वर्ष मात्र जनयुद्ध भएको हो । माओले २५ वर्ष र होचिमिन्ह ३९ वर्षसम्म जनयुद्ध लडेका थिए । अहिले हामी बदलिंदो परिस्थितिको मूल्यांकन र विवेचना गर्दै यसको अनुसन्धानमा लागिरहेका छौं ।

तयारीमा छौं भन्नुभयो, कहिले सुरु हुन्छ जनयुद्ध ?

–यो त भन्ने कुरा नै होइन, प्रश्न नै सीआइडीले गर्ने जस्तो भयो । बेला आएपछि हामी जनतालाई अपिल गर्नेछौं ।

तपाईंको प्रतिकृयाहरू